Thursday, May 21News That Matters

उदयपुरमा एक लघुवित्त संस्थाको ७३ लाख भन्दा बढी ठगी गरेको आरोपमा बरिष्ठ फिल्ड सहायक पक्राउ

पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा एक लघुवित्त संस्थाका ७३ लाख भन्दा बढी ठगी गरेको आरोपमा बरिष्ठ फिल्ड सहायकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ५ बस्ने श्रृजनशिल लघुवित्त वित्तिय संस्थाका तत्कालिन बरिष्ठ फिल्ड सहायक गौरव बहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बरिष्ठ सहायक अधिकारी रौतामाई ७ मुर्कुची स्थितमा रहेको श्रृजनशिल लघुवित्त वित्तिय संस्था शाखा कार्यालयमा कार्यरत थिए । उनले २०७८।१०।२८ गते तथा विभिन्न मितिमा उक्त संस्थाको सदस्यहरुको फर्जि नामावली कागज बनाई फर्जि ऋण पत्र देखाई रु ५०,९१,५७७ सावाँ र सोको व्याज रु.२२,३१,१६६ गरी जम्मा रु. ७३,२२,७४३ ठगी गरेको डिएसपी चौधरीले बताए ।

उक्त संस्थाले बरिष्ठ सहायक अधिकारी विरुद्ध जाहेरी दिएपछि अनुसन्धानको क्रममा उक्त कसुर ठगी नभई बैकिङ कसुर अन्तर्गतको कसुर गरेको देखिएकोले ठगीबाट बैकिङ्ग कसुरमा परिणत भएको डिएसपी चौधरीले बताए । फरार रहेको अधिकारीलाई असोज २९ गते महोत्तरीको बलवा नगरपालिका ९ अध्यानपुर (भारतको सिमाना नजिक) बाट लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कायालय उदयपुरमा ल्याई थप आवश्यकअनुसन्धान गरिरहेको डिएसपी चौधरीले जनाए ।