Thursday, April 9News That Matters

उदयपुरमा छुट्टाछुट्टै दुई दुर्घटना

पूर्णपष्टि, चैत्र २२ । उदयपुरमा आज छुट्टाछुट्टै दुई दुर्घटना हुँदा एकजना घाइते भए भने पसल सहितको एक घर क्षति भएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको कार आज बिहान मदन भण्डारी राजमार्गको गाईघाट बेल्टर सडक खण्ड अन्तर्गत त्रियुगा नगरपालिका १ फुलजोरमा दुर्घटना हुँदा एकजना घाइते भएका हुन् ।

भारतीय नम्बर प्लेट डब्लुबी ७४१३ एम ५०२२ नम्बरको कार विपरीत दिशाको किनारामा पोलमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा भारतीय नागरिक कर्साङका ३८ वर्षीय पुन्चोक शेर्पा घाइते भएका छन् । घाइतेको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक दार्जिलिङका ४३ वर्षीय विवेक रोक्का सहित चारजना सवार थिए । सवार अन्यको अवस्था सामान्य रहेको छ । कारको अघिल्लो भाग र बाहिरी भाग क्षति पुगेको छ । कार एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ ।

त्यसैगरी कटारी नगरपालिका–५ बलाहामा आजै बिहान मालवाहक ट्रक दुर्घटना भई घर भत्काएको छ । एक्कासी अनियन्त्रित भई पल्टिएको ट्रकले बाबुराम दनुवारको घर र पसलमा क्षती पुऱ्याएको छ । ओखलढुंगाको खिजिफलाँटेबाट झापा तर्फ उत्तिसको काठ बोकेर जाँदै गरेको प्र १–०२–००२ ख ०५३७ नम्बरको मालबाहक ट्रक मदन भण्डारी राजमार्गको कटारी–गाईघाट सडकखण्डको सो ठाउँमा दुघर्टना भएको हो । ट्रकले घरको अघिल्लो भाग क्षती गरी दनुवार दम्पत्ति घरभित्रै थुनिएका थिए । उनीहरुलाई गाउलेहरुले भित्ता भत्काएर सकुशल उद्धार गरेका थिए ।