
पूर्णपुष्टि, माघ २८
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार जिल्लामा ५१ हजार ६ सय ७९ जना नयाँ मतदाता थपिएको छ । जिल्लामा रहेको आठ वटै स्थानिय तहको मतदाता नामावली संकलन गर्दै कार्यालयले जिल्लामा ५१ हजार बढी नयाँ मतदाता थपिएको जनाएको छ । आउदो वैशाख ३० गतेको स्थानीय निर्वाचनमा सहभागी हुने उद्देश्यले मतदाता थपिएको हो ।
आउदो निर्वाचनका लागि यी मतदाताहरुले आफुलाई मनपरेको पार्टी र व्यक्तिलाई भोट हाल्न पाउने छ । जिल्लामा पुरुष मतदाताको संख्या १ लाख १५ हजार नौ सय ५१ जना र महिला मतदाताको संख्या १ लाख ६ हजार दुई सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता रहेको निवार्चन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो । २०७४ सालको निर्वाचनमा १ लाख ७५ हजार ४ सय ९१ जना मतदाता रहेको थियो ।

निर्वाचन कार्यालयका अनुसार त्रियुगा नगरपालिका सबैभन्दा बढी मतदाता थपिएको छ । त्रियुगा नगरपालिकामा १३ हजार ६२ मतदाता थपिएर ६० हजार ६ सय ५७ मतदाता पुगेको छ । जसमा दुई जना तेस्रो लिङ्गी पनि थपिएको छ ।
यस्तै, दोस्रोमा चौदण्डीगढी नगरपालिका पर्दछ । चौदण्डीगढी नगरपालिकामा ९ हजार ९३ जना मतदाता थपिएर ३९ हजार ३ सय ४१ मतदाता पुगेको छ । चौदण्डीगढीमा पुरुष भन्दा महिला मतदाता बढी छ । पुरुष १९ हजार ४ सय ५० मतदाता छ भने महिला १९ हजार ८ सय ८१ मतदाता रहेको छ ।
त्यसैगरी, तेस्रोमा कटारी नगरपालिका पर्दछ । यस नगरपालिकामा ९ हजार १ सय ५६ मतदाता थपिएका छन् । अहिले ३९ हजार २ सय ४६ मतदाता पुगेको छ । चौथोमा बेलका नगरपालिकामा ८ हजार ८ सय ८२ मतदाता थपिएर ३३ हजार ४ सय ७७ मतदाता पुगेको छ ।

यसैगरी, गाउँपालिका मध्ये सबैभन्दा बढी उदयपुरगढी गाउँपालिकामा मतदाता छन् । यस गाउँपालिकामा ४ हजार ६ सय ११ जना मतदाता थपिएर २० हजार ४ सय ४२ जना मतदाता पुगेको छ । रौतामाईमा ३ हजार १ सय ३८ मतदाता थपिएर १५ हजार ९ जना मतदाता पुगेको छ ।
जिल्लाको विकट क्षेत्रमा पर्ने ताप्ली र लिम्चुङबुङ गाँउपालिकामा सानो संख्यामा मतदाता थपिएको छ । ताप्लीमा गाउँपालिकामा १० हजार १ सय २२ र लिम्चुङबुङ गाउँपालिकामा ८ हजार ८ सय ७६ मतदाता पुगेको छ । ताप्लीमा १ हजार ८ सय २४ र लिम्चुङबुङमा १ हजार ९ सय १३ मतदाता थपिएको छ ।
अहिले थपिएकोका मतदातामा केहि थपघट हुन सक्ने निर्वाचन कार्यालय प्रमुख बरालले जानकारी दिनुभयो । अहिले नै अन्तिम मतदाता नामावली नआई पुगेकोले थपघट हुन सक्ने उहाँले बताउनुभयो ।

