Saturday, September 26News That Matters

उदयपुरमा दशैं–तिहार लक्षित बजार अनुगमन, कटारी बजारमा एक हाेटल २० हजार जरिवानामा

पूर्णपुष्टि सम्बाददाता/८ असोज २०८३ । उदयपुर

नेपालीहरूको प्रमुख चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरणलगायतका गतिविधि नियन्त्रण गर्न प्रशासनले बजार अनुगमन थालेको हो ।

यसैक्रममा प्रशासन उदयपुरको टोलीले कटारी नगरपालिका अन्तर्गतको कटारी बजारमा अनुगमन गरेको छ। उदयपुरको प्रमुख व्यापारिक केन्द्रमध्ये एक रहेको कटारी बजारमा खाद्यान्न, किराना तथा दैनिक उपभोग्य वस्तुको कारोबार हुने भएकाले चाडपर्वको समयमा यहाँको बजार अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मेखराज मग्रातीका अनुसार अनुगमनका क्रममा बजारमा १५ वटा पसलमा छड्के अनुगमन गरिएको थियो । त्यसमध्ये ६ वटालाई सचेत गराईएको र एकवटालाई कारवाही गराइएको छ । अनुगमनका क्रममा गल्ती भेटिएपछि खोटाङ खार्पाली सुरज होटल एण्ड लजलाई कारवाही स्वरुप २० हजार जरिवाना गराइएको हो । अनुगमनका क्रममा पसलहरुबाट पाँच हजार बराबरको म्याद गुज्रेका सामान बरामद  गरी नष्ट गरिएको जनाइएको छ ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई मूल्यसूची राख्न, बिल–बिजक अनिवार्य रूपमा उपलब्ध गराउन, म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री नगर्न र उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सचेत गराइएको छ । प्रशासनको अनुगमन टोलीले केही पसलमा भेटिएका समस्या तथा कमजोरीका विषयमा व्यवसायीलाई सचेत गराउँदै आगामी दिनमा सुधार गर्न निर्देशन दिएको जनाएको छ ।

चाडपर्वको समयमा बजारमा हुने अनियमितता नियन्त्रण गर्न जिल्लाका अन्य प्रमुख बजारमा समेत अनुगमनलाई निरन्तरता दिने जनाएको प्रशासनले छ । उपभोक्तालाई पनि सामान खरिद गर्दा मूल्य, म्याद, गुणस्तर र बिल–बिजक जाँच गर्न आग्रह गरिएको छ ।