
पूर्णपुष्टि, फागुन १३ । उदयपुरमा दादुरा – रुबेला विरुद्धको खोप अभियान २०८०÷८१ सुभारम्भ भएको छ । आईतबार त्रियुगा नगरपालिका १० बोक्से स्थित बालमन्दीर माविमा एक कार्यक्रम गर्दै खोप अभियान सुभारम्भ गरिएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा आईतबारदेखी पहिलो चरणको खोप अभियान सुभारम्भ भएको छ । पहिलो चरणको खोप १३ देखी १७ गते सम्म संञ्चालन हुने र दोस्रो २२ देखी २६ सम्म हुने कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा खोप संञ्चालन हुने भएको छ भने, दोस्रो चरणमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा खोप संञ्चालन हुने निरौलाको भनाई छ ।
जिल्लाभारीका २९१३४ जनालाई दादुर – रुबेला विरुद्धको खोप लगाईने छ । खोप ९ महिना देखी ५ बर्ष मुनिका र ९ महिना देखी १५ बर्ष मुनिका लक्षित समुहलाई लगाईने छ । खोप अभियान सुभारम्भ कार्यक्रममा समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले गरेका थिए । साथै त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख बृज कुमार दास, त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष किरण पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

