
पूर्णपुष्टि, फागुन २३ ।
१ हजार जना क्षमता रहने क्वारेन्टाइन बनाउने स्थानको नाममा उदयपुरको नाम पनि आएको छ । कोरोना भाइरस संक्रमणको आशंका गरिएकाको उपचारका लागि प्रदेश नं. १ सरकारले उदयपुर र मोरङमा बनाउने जनाएको छ ।
कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न क्वारेन्टाइन स्थल निर्माण गर्न लागेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।
दुई जिल्लाको कुन ठाउँमा क्वारेन्टाइन स्थल राख्ने भन्ने निधो गर्न भने बाँकी रहेका जनाइएको छ । मोरङ र उदयपुर जिल्लामा क्वारेन्टाइन स्थल निर्माण गर्ने सरकारले निर्णय गरेपछि आवश्यक तयारीमा सरकार जुटेको जनाएको छ । मन्त्री कार्कीले शुक्रबार प्रदेशसभा बैठकमा तयारीमा जुटेको जानकारी दिएका हुन् ।
प्रदेशका मुख्य सचिवको संयोजकत्वमा टाक्स फोर्स गठन गरिएको पनि जानकारी दिइएको छ । कोरोना संक्रमण रोकथामका लागि अपनाउनुपर्ने सबै खालका सावधानी अपनाउन यस्तो व्यवस्था गर्न लागिएको हो । उनले टाक्सफोर्सले सचेतना जगाउनेदेखि स्वस्थ्य परीक्षण, उपचार, बजेट व्यवस्थापन लगायतका कामको अनुगमन गर्ने जानकारी गर्नेछौं । साथै बजारमा उपभोग्य वस्तु, औषधी र खाद्यान्नको अभाव हुन नदिने पनि बताए ।
