
२७ भदौ, २०८३ । उदयपुर
उदयपुरको बेलका नगरपालिका–८ आहालेमा बर्षापछि गएरातीको पहिरोले एक घर बगाउनुका साथै तीन घर जोखिममा परेको छ । मेयर अशोक कार्कीका अनुसार स्थानीय मेहरमान राईको घर बगाएको हो । उनको घर पूर्णरुपमा क्षती भएको छ । राती ९ बजे घरसंगै बगेर बेपत्ता भएका मेहरमान भने विहान गाउँको सम्पर्कमा आएका थिए ।
मेयर कार्कीका अनुसार पहिरोमा भागेर बच्न सफल उनी रातभर जङ्गलमा बसेर विहान गाउँलेको सम्पर्कमा आएका थिए ।
अन्य तीनघर जोखिममा परेका छन् । स्थानीय अरुणकुमार राई, बमप्रसाद राई र बिरसिंह राईको घर जोखिममा परेका हुन् । तीनवटै घरमा बस्न सक्ने अवस्था छैन । उनीहरुको परिवार सबै विस्थापित छन् । उनीहरुले घर छाडेर सुरक्षित ठाउँमा आश्रय लिएका छन् । मानवीय क्षेती भने भएको छैन ।
बगेर क्षती भएको मेहरमानसहितको चारैघर परिवारका ३२ जना हाल विस्थापित भएको अवस्था छ । उनीहरुलाई सुरक्षित स्थानको छिमेकीको घरमा राखिएको वडाध्यक्ष जयकुमार राईले बताए । बाटो खुलाएर पिडितहरुलाई पालिकाले राहतको ब्यवस्था मिलाउने तयारी भइहरेको उनले बताए ।
उदयपुर प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार विहानैदेखि सुरक्षाकर्मी र स्थानीय घटनास्थलमा उद्धारमा खटिएका छन् । राती जोखिममा परेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम मात्रै भएको थियो । पालिकाका मेयर कार्की, वडाध्यक्ष राई, सुरक्षाकर्मी र स्थानीयहरुका साथ उद्धारमा खटिरहेका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार पहिरो झण्डै पाँचसय मिटर फराकिलो भाग जमिन फाटेर करिब डेडकिलोमिटर तल घरसहित खसेको छ । पहिरोले जताजतै सडक अवरुद्ध भएपछि दुईघण्टा बढि पैदल हिडेर जानु परेको वडाध्यक्ष राईले बताए । घटनाको क्षती तथा उद्धारको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

