Wednesday, April 29News That Matters

उदयपुरमा मालपोत कार्यालयको जीप दुर्घटना हुँदा हाकिम सहित ४ जना घाइते

पूर्णपुष्टि, जेष्ठ २७ ।  उदयपुरमा मालपोत कार्यालयको जीप दुर्घटना हुँदा हाकिम सहित ४ जना घाइते भएका छन् । दुर्घटनामा परी घाईते हुनेमा चालक ५० वर्षीय जीतबहादुर कार्की, मालपोतकै खरिदार ३५ वर्षीय तेजनारायण साह, उदयपुरगढी ५ की ४० वर्षीया सरिता भण्डारी र उनकै छोरी १७ वर्षीया संरचना भण्डारी रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ ।

मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डको नागबेलेस्थित ओरालो घुम्ती सडकमा मंगलबार बिहान ७:३० बजे स १ झ ४८५ नंबरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाईते भएकाहरुको उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल उदयपुरमा लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक कार्की र खरिदार साहको अवस्था गम्भीर भएकाले थप उपचारका लागि १०:०० बजे विराटनगर रिफर गरिएको छ । महिला र बालिकाको भने उपचार भइरहेको छ ।

कार्यालयको काम लिएर उदयपुरगढी गाउँपालिका गएका मालपोत अधिकृत दुविन्द्र बरालसहितको टोली कार्यालयको काम सकेर सदरमुकाम गाईघाट फर्कने क्रममा दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शी खड्ग आलेका अनुसार हाकिम बरालसहित जीपमा सवारमध्ये ४ जनाबाहेक हाकिम बरालसहित यात्रुहरु शौच गर्न ओर्लेका बेला ओरालो सडकमा जीप ब्रेक फेल भएर आफै दुर्घटनामा परेको हो ।

उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार सोमबार गाउँपालिकाको जग्गाको दररेट निर्धारण समितिको बैठकमा सहभागी भई मंगलबारको कार्यालय भ्याउने गरी बिहानै फर्केको मालपोत कार्यालय प्रमुख बराल सहितको टोलीसँग छोरीको नागरिकता बनाउन भनेर सरिता र छोरी संरचना पनि सँगै सदरमुकाम गाईघाट गएका थिए ।