Wednesday, April 22News That Matters

उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा एकजना पक्राउ

पूर्णपुष्टि, जेठ १४ । उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल मझुवागढी नगरपालिका वडा नं. १७ बस्ने २६ बर्षीय अर्जुन प्रधान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जेठ १० गते त्रियुगा नगरपालिका–१२ स्थित सोनापुरबाट घरमा पार्किङ गरी राखेको प्रदेश नं १–०५–००१ प २४६० नं. को पल्सर मोटरसाईकल चोरी भएको थियो । उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा जेठ ११ गते त्रिनपा–११ इनार चोक स्थित वर्कशपमा मर्मत गराउन ल्याएको क्रममा फेला पारेको डिएसपी चापागाईले बताए । मोटरसाईकल फेला परेसँगै चोरीमा संलग्न प्रधानलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चोरी आरोपमा पक्राउ परेका प्रधान विगतमा समेत चोरीमा संलग्न रहेको अनुसन्धाबाट खुलेको डिएसपी चापागाईले बताए । प्रधानको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट मिति २०७७।०४।११ गते खसी चोरी गरेको कसुरमा, मिति २०७८।०४।०४ गते पसलमा चोरी गरेको कसुरमा र यसै गरी मिति २०७८।०४।१९ गते रु. ९९ हजार चोरी गरेको कसुरमा चोरी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।