
पूर्णपुष्टि, चैत्र २० । उदयपुरको कटारी नगरपालिका वडा नं. ०४ कान्छी बजारबाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट करोबारमा संलग्न एक युवती सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका–०७ बस्ने २९ बर्षीय हरि बहादुर तामाङ, कटारी–८ बस्ने १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी–४ बस्ने २३ बर्षीय अनमोल मगर, २३ बर्षीय सरद कुमार सुनुवार, १९ बर्षीय बिक्रम साशंकार र २० बर्षीया आरती राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार मंगलबार कान्छी बजारमा लागुऔषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षक भीमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले TRUPAIN TABLET- ४,४३१, SPASPAIN TABLET- ५,९१२ र TAPENTA TABLET- १२० गरी जम्मा १० हजार ४६३ ट्याबलेट नियन्त्रित लागूऔषध र १०० ग्राम गाँजा सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
साथै, उनिहरुको साथबाट नगद २ लाख ४७ हजार ७ सय २० रुपैया, प्र. १-०५-००१ प ७६०२ नं. को २२० सि.सि. कालो रातो रंगको पल्सर मोटरसाईकल, प्र.१-०५-००१ प ७४९७ नं. को २०० सि.सि. कालो फुस्रो रंगको एन.एस. मोटरसाईकल र ६ वटा मोबाईल फोन समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

