
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित लालपत्ताबाट लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ६८९३ नं. को विङगरमा सवार राईको साथबाट डाईजेपाम ९ एम्पुल, फेनारागन ९ एम्पुल र बुप्रिनोर्फिन ९ एम्पुल गरी जम्मा २७ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै नियन्त्रणमा लिएको उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
