Thursday, April 30News That Matters

उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

पूर्णपुष्टि, भदौ ४ । उदयपुरमा किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम धुमधामका साथ मनाएका छन्। सोमबार वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारी स्थित साकेला (भूमे) थानमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गरी यो चाड मनाइएको हो।

समाजका अध्यक्ष ऋषि राईको सभापतित्व र केन्द्रीय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि राईले ढ्वाङकुमको ऐतिहासिक महत्व बताउँदै विगतमा गोरुको पूजा गरी सामूहिक रुपमा कागुनीको भात खाने प्रचलन रहेको जानकारी दिए। राज्यसत्ताले गाईलाई राष्ट्रिय जनावर बनाएपछि गोरु काट्न प्रतिबन्ध लगाइएको र त्यसपछि राँगा काटेर मनाउने गरिएको उनले बताए।

कार्यक्रममा उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका आसपासका वाम्बुले राईहरुको सहभागिता रहेको थियो। वाम्रास उदयपुरका अध्यक्ष ऋषि राईले आगामी वर्षको ढ्वाङकुममा साकेला थान क्षेत्रमा ढ्वाङकुम पुज्ने थानको स्थापना गरी विधिवत पूजा गरिने योजना रहेको बताए।

ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन्। यो पर्वलाई उभौलीपर्वको समापनका रुपमा पनि लिइन्छ। वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै यो पर्व मनाउने चलन छ।

पछिल्ला वर्षहरुमा जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लाहरुमा पनि यो पर्व मनाउने प्रचलन बढेको छ। उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रुपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाउने गरेका छन्। यसरी ढ्वाङकुम पर्वले वाम्बुले राई समुदायको संस्कृति र परम्परालाई जीवन्त राख्दै आधुनिक समयमा पनि निरन्तरता दिइरहेको छ।