
पूर्णपुष्टि, जेठ ११ ।
पछिल्लो २४ घण्टामा उदयपुरका दुईजनाको कोरोनाका कारण मृत्यु भएको छ । दुबै मृतक महिला हुन् । दुबैजना त्रियुगा नगरपालिकाका हुन् । त्रिनपा वडा नं. १३ की ४० वर्षिया महिला र ३ की अर्की एक महिलाको मृत्यु भएको हो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । जसमा १० महिला र १९ पुरुष रहेका छन् ।
उदयपुरमा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ । कुल संक्रमित मध्ये ६४१ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या १५४ रहेको छ ।
परिक्षण गर्दा २१ म्हिला र २६ पुरुष संक्रमित देखिएका हुन् । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६४१ पुगेको हो । सक्रिय संक्रमितमा २९९ महिला र ३४२ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएका छन् । योसंगै जिल्लामा निको हुनेको कुलसंख्या १५४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने भन्दा ३९ जना नयाँसंक्रमितको संख्या बढी देखिएको छ । जिल्लामा पछिल्लो समय परिक्षणको दायरा बढाएसंगै संक्रमित पुष्टि हुने क्रम बढिरहेको छ ।
हालसम्म जिल्लामा १ हजार ६९२ जनाको कोरोना परिक्षण हुदा ८२४ मा संक्रमण पुष्टि भएको हो । परिक्षणको संख्या र संक्रमितको संख्या हेर्दा परिक्षणको झण्डै पचास प्रतिशत संक्रमित देखिएका छन् ।
जिल्लाको आठ पालिका मध्ये सबैभन्दा बढि संक्रमित रहेको त्रियुगा नगरपालिकामा संक्रमितको संख्याले ४ सय नाघेको छ । त्रियुगामा ४०६ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जना थपिएसंगै त्रियुगामा उक्त संख्या पुगेको हो । पालिकाको १६, ११, १०, १२ वडा नम्बरहरुमा बढि संक्रमित देखिएका छन् । वडा नं. १६ मा मात्र ५८ जना संक्रमित छन् ।
मृत्यु हुनेको संख्या पनि त्रियुगामै बढि छन् । जिल्लाको मृत्यु संख्या २९ हुदा त्रियुगामा मात्र १९ जना रहेका छन् । यो सिंगो जिल्लाको संख्यामा ५० प्रतिशत बढि हो ।
निको भएको संख्या कम देखिन्छ । ५८ जना मात्र निको भएका छन् । त्रियुगामा हाल सक्रिय संक्रमित ३२९ रहेका छन् ।
त्रियुगा पछि चौदण्डीगढीमा कुल संक्रमित १३० रहेको छ । त्यसैगरी बेलकामा कुल संक्रमित ९४ र कटारीमा ८६ जना रहेका छन् ।
गाउँपालिकाहरु मध्ये सबैभन्दा बढि लिम्चुङबुङ गाउँपालिकामा संक्रमित देखिएका छन् । उक्त पालिकामा हालसम्म ४७ जना संक्रमित देखिएका छन् । रौतामाईमा ३०, उदयपुरगढीमा २९ र ताप्लीमा १ जना रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको उदयपुर कोभिड अस्पतालमा हालसम्म ८१ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएको तथ्यांक छ ।
सो अस्पतालका ब्यवस्थापक तेजबहादुर पोखरेलका अनुसार त्यसमध्ये २ जनाको मृत्यु भएको छ । ३१ जना निको भएका छन् । ११ जनालाई बाहिर रेफर गरियो भने हाल उपचारमा ३७ जना रहेको पोखरेलले जनाउनुभयो ।
त्रियुगा नगरपालिकाको वडा नं. १६ मा पालिकाभित्र सबैभन्दा बढि संक्रमित देखिएसंगै परिक्षणको काम निरन्तर चलिरहेको छ । वडाले भोली पनि परिक्षण राखेको वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो ।
हिजो ४१ जनाको परिक्षणमा २५ जना संक्रमित थपिएसंगै वडामा हाल ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ जनालाई जिल्ला अस्पतालको कोरोना आइसोलेशनमा उपचारमा राखिएको छ । अन्य सबै होम आइसोलेशनमा छन् । विरामीहरु सबैको स्वास्थ्य अवस्था सुधार रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको कुल संख्या ६ हजार ७०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना नयाँ संक्रमित थपिएको छ । २२ हजार ९३६ जनाको परिक्षण गरिदा उक्त संख्यामा संक्रमित थपिएको हो । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
पछिल्लो समय निको हुने नेपालको कुल संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका हुन् ।
हाल नेपालको कुल सक्रिय संक्रमित १ लाख १७ हजार २६१ रहेको छ । हिजोसम्म लगातार तीनदिन सय अंकमा घटिरहेको सक्रिय संक्रमित आज बढेको छ । सक्रिय संक्रमित १ हजार ८१४ जना बढि देखिएको छ ।
आज पनि विश्वमा पछिल्लो २४ घण्टाको रिपोर्ट विश्लेशन गर्दा संक्रमित भन्दा निको हुनेको संख्या बढ्दो छ । पछिल्लो समय संक्रमित ४ लाख ६७ हजार ४०८ जना थपिदा ७ लाख ७१ हजार ७० जना निको भएका छन् । संक्रमित भन्दा ३ लाख ३ हजार ६६२ जना बढि निको हुनेको संख्या छ ।
विश्वमा कोरोना संक्रमितको कुल संख्या १६ करोड ८० लाख १ हजार ९०९ पुगेको छ । कुल निको हुनेको संख्या १४ करोड ९३ लाख, ४५ हजार ४९४ पुगेको छ । विश्वमा कुल सक्रिय संक्रमणितको संख्या १ करोड, ५१ लाख ६८ हजार ७८१ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ हजार ३२ थपिदा विश्वमा मृत्यु हुनेको कुल संख्या ३४ लाख ८७ हजार ६३४ पुगेको छ ।
