
पूर्णपुष्टि/उदयपुर, असार ११
स्वास्थ्य कार्यालय उदयपुरले सञ्चारकर्मीहरूका लागि विभिन्न सरुवा तथा किटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
स्वास्थ्य कार्यालयमा आज आयोजित कार्यक्रममा औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, चिकनगुनिया लगायत अन्य इमर्जिङ तथा किटजन्य रोगहरूको अवस्था, जोखिम, रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले वर्षायामसँगै डेंगु तथा अन्य किटजन्य रोगको जोखिम बढ्ने भएकाले समुदायस्तरसम्म सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए। रोगको पहिचान, लक्षण, उपचार र बच्ने उपायका विषयमा सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको थियो।
त्यसैगरी सञ्चारकर्मीहरूले रोग नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा स्थानीय तह, स्वास्थ्य संस्था र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको धारणा राखिएको थियो ।
स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा सम्पन्न कार्यक्रमले रोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
