Monday, May 4News That Matters

उदयपुरमा स्रष्टाहरुको लेखन शिविर सम्पन्न

पूर्णपुष्टि,असार २२ । जिल्लको त्रियुगा नगरपालिकामा डा.रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा भएको कोशी प्रदेश स्तरीय ‘स्रष्टाहरूको लेखन शिविर’ सम्पन्न भएको छ । बोक्सेको क्वबर रिसोर्टको सभाहलमा भएको स्रष्टालेखन शिविरमा प्रदेश अन्तरगतका १४ जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । बिहिवार देखि सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको हो ।

शिविरको उद्घाटनको दिन प्रतिष्ठानका अध्यक्ष महेन्द्रकुमार राईको सभापतित्वमा प्रमुख अतिथि वरिष्ठ स्रष्टा गणेश रसिकले बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ स्रष्टाहरू बुलु मुकारुङ, शरणकुमार राई, राममणि पोखरेललगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारद्वारा स्वागत गीत तथा नृत्य प्रदर्शन गरेका थिए । सोहि क्रममा प्रमुख अतिथि वरिष्ठ स्रष्टाहरू रसिक र मुकारुङले मन्तव्य सहित केही कालजयी गीत पनि गाएका थिए । पहिलो दिन प्रतिष्ठानकी कोषाध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समितिकी उपप्रमुख गङ्गा राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

त्यस्तै दोस्रो दिनमा वाङ्मय साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार कौशल चेम्जोङको सभापतित्वमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई थिए । त्यसैगरी विशिष्ट अतिथिहरू गणेश रसिक, वुलु मुकारुङ, जीवन आरोही, पुन्य कार्की, त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेत, प्राज्ञ चेतनाथ धमला, गायीका रश्मी राई, सुमी पोखरेल विभिन्न जिल्लाका पाँच दर्जन कविको उपस्थिति थियो ।

सामाजिक विकास मन्त्रालय प्रदेशको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा सामाजिक व्यक्तित्व स्व.रणशेर राईको समाधिस्थल र प्रतिमा मूर्तिमा गई सबै स्रष्टाहरूले धुप र फूलका गुच्छाहरूले श्रद्धाञ्जली माल्यार्पण गरेका थिए । कार्यक्रमको अन्तिम दिन सोमबार चौदण्डीगढीको भ्रमण गरी आमन्त्रित स्रष्टाले कविता वाचन गरेका थिए ।