
पूर्णपुष्टि उदयपुर) फागुन ५ ।
उदयपुरका पूर्वी इलाकामा तैनाथ प्रहरीले ४०० केजी गाँजा एक पिकअप भेनभरी लुकाई छुपाई ओसार पसार गर्दै गरेको अवस्थमा आज फेला पारी तीन मानिससहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–८ सिरुवानीबाट को १ ज २७६१ नम्बरको पिकअप भेनमा ल्याउदै गरेको ठूलो परिणामको गाँजा र मानिस पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार विशेष सुराकीको आधारमा इप्रका रामपुरबाट खटिएको प्रहरीले गाडीसहित गाँजा र मानिस पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ वर्षिय गोकुल राई, बेनपा–७ का २९ वर्षिय मनोज राई र सुनसरीको बराहाक्षेत्र नपा–१ का २३ वर्षिय मनिष धामी रहेका छन् । चालक गोकुल गाडीधनसमेत रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले गाडीमा निलो त्रिपालले छोपी लुकाई छिपाई गाँजा ओसार पसार गर्दै गरेका थिए । १६ वटा बोरामा ल्याउदै गरेको प्रतिबन्धित लागुऔषध तयारी गाँजा ४०० केजी जिल्लामा पक्राउ परेको मध्ये अहिलेसम्मकै ठूलो परिणाम हो । गाजाँसंगै पक्राउ परेका ब्यक्तिहरुसंग ६३ हजार २५ रुपैया नगद र चारवटा विभिन्न कम्पनीको मोवाईल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका गाँजा, मानिस र गाडी जिल्ला प्रहरी कार्यालय ल्याएर पत्रकार सम्मेलन गरी घटनाको बारे सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुसंग बयान तथा थप अनुसन्धानले गाँजा ओसार पसारमा संलग्न अरुसमेत पत्ता लाग्न सक्ने प्रहरीको भनाई छ ।
हाल पक्राउ परेकाहरुविरुद्ध आगु औषध ऐन २०३३ बमोजिम आवश्यक थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जिल्ला अदालत उदयपुुरबाट पहिलो पटक १० दिनको म्याद लिई कार्वाही अगाडी बढाइएको जनाइएको छ ।


