Tuesday, May 5News That Matters

उदयपुर कारागारमा ठूलो संख्यामा कैदीबन्दी विरामी

उदयपुर, साउन २० गते । 

भाईरल ज्वरोले आईतबारदेखि जिल्ला कारागार उदयपुरका कैदीबन्दि ठूलो संख्यामा विरामी परेका छन् । १ सय ७३ कैदीबन्दी रहेको कारागारमा १ सय २० जना विरामी परेका हुन् ।

कैदीबन्दीहरुमा भाइरल ज्वरो र पखाला देखिएको जेलर खड्काले बताए । एकैसाथ धेरै कैदीबन्दीमा यसप्रकारको विमार देखिएपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट चिकित्सक टोली झिकाई स्वस्थ्य जाँच तथा उपचार गरिएको थियो ।

विरामीहरुले हाल औषधि सेवन गरिरहेका छन् । विरामी मध्ये नौ जनालाई थप उपचारका लागि बोलाएपछि सोमबार अस्पताल लगिएको छ ।

वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दुषित आउने गरेपछि कैदीबन्दीहरुमा विरामी देखा परेको बताईएको छ । अहिले कारागारले सबै कैदीबन्दीलाई पानी तताएर पिउने व्यावस्था गरिएको छ ।

५० जना क्षमताको सो कारागारमा तेब्बर बढि कैदीबन्दी छन् । कारागारमा पुरुषकैदी १ सय ५ जना, बन्दी ५२ जना रहेका छन् भने महिला कैदी ८ जना, बन्दी ४ जना र आमासंग आश्रित ४ नाबालिका रहेका छन् ।

३६ वर्षे पुरानो कारागारको भौतिक संरचना हाल जिर्ण अवस्थामा छ भने क्षमताभन्दा कैदीबन्दी रहनुपर्दा चर्पी, बाथरुम, खानेपानी तथा सरसफाईमासमेत समस्या पर्ने गरेको छ ।