Sunday, April 19News That Matters

उदयपुर पूर्णखोप सुनिश्चित घोषित

पूर्णपुष्टि, असार २३ । उदयपुरलाई आज औपचारिक रूपमा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। ‘पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्माले पूर्णखोप सुनिश्चित घोषणा गरेका हुन्।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले पूर्णखोप सुनिश्चितताले स्वस्थ र सक्षम जनशक्ति तयार हुने बताए । जिल्लाका ५ वर्षमुनिका २०,५३८ बालबालिकामध्ये २०,३०९ जनाले खोप पाएका छन्। समारोहमा आठै पालिकालाई प्रशंसापत्र प्रदान गरियो र विभिन्न पालिकाका ८ जना स्वास्थ्यकर्मीहरूलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरिएको थियो। स्वास्थ्य कार्यालयका उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।

स्वास्थ्य प्रमुख बृजकुमार दासले अभियानको सफलतामा सबै पालिका, कर्मचारी र स्वयंसेवकहरूको भूमिका रहेको बताए। कार्यक्रममा सहभागीहरूले सामूहिक हस्ताक्षर गरी प्रतिबद्धता जनाए। यो उपलब्धिले उदयपुर जिल्लामा बालस्वास्थ्य सुधारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको देखाउँछ र यसले भविष्यमा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।