Tuesday, June 9News That Matters

उदयपुर प्रहरीले गर्यो सर्बसाधारणलाई निशुल्क मास्क वितरण

पूर्णपुष्टि, माघ ५
कोरोना भाईरस संक्रमण तिव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै उदयपुरमा प्रहरीले मास्क वितरण गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरको माताहतमा रहेको ३८ ओटै प्रहरी युनिट वाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्बसाधारणलाई निशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
जिल्ला प्रहरीले आप्mनै स्रोतबाट सर्बसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । “नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं” प्रनाउ गौतमले भन्नुभयो “मास्क वितरणसंगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौं ।”

जिल्ला प्रहरी कार्यालय, ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरीचौकी र अस्थायी प्रहरी चौकीहरुबाट सर्बसाधारणलाई मास्क वितरण गरिएको हो । प्रहरीले जिल्लाको मुख्य ब्यापारिक केन्द्रहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुचीमा दिनभर खटिएर मास्क वितरण गर्यो । बजारक्षेत्र मात्र नभई ग्रामिण भेगमा समेत विभिन्न युनिटहरुले वितरण गरेको थियो । प्रहरीले मास्क वितरणसंगै कोरोनाविरुद्ध सचेत रहन सचेतना जगाउने काम गरेको छ । कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् ।

बजारक्षेत्र र समुदायमा सर्बसाधारणले मास्क प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्ने, सेनिटाइजर प्रयोग नगर्ने, साबुन पानीले हात नधुने जस्ता लापरवाही अत्याधिक देखिएको प्रनाउ गौतमले बताउनुभयो । अव, दुईचारदिन प्रहरीले यसरी नै सचेत बनाउने, अटेर गरेमा प्रशासनले कारवाही गर्ने बताइएको छ । सकेसम्म सर्बसाधारणलाई कारवाही गर्न नपरोस्, आफै सचेत बनोस् भन्ने हेतुले पहरीले यो कदम चालेको जनाएको छ ।

गाईघाट बजारको मुख्यचौकको आसपासमा खटिएको विभिन्न प्रहरी टोलीले पैदल यात्रु तथा सवारीमा चढेका यात्रुलाई राकेर मास्क प्रयोग गर्न सम्झाएका थिए । उनीहरुलाई निःशुल्क मास्क दिदै कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकोप्रति सचेत गराएका थिए । मास्क सधै प्रयोग गर्न अनुरोध गरेका थिए । सर्बसाधारणले प्रहरीको अनुरोधलाई सहर्ष स्विकार्दै मास्क प्रयोग गरेका थिए । भिडभाडमा, बजारमा, विभिन्न कार्यक्रम र कार्यालयहरुमा मास्क अनिवार्य प्रयोग गर्ने सर्बसाधारणले प्रतिबद्धता गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्यांक अनुसार हाल उदयपुरमा १४३ जना कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लाको सबै पालिका र जिल्ला अस्पतालमा गरी २१९ जनाको परिक्षण हुँदा उक्त संख्यामा संक्रमिण पुष्टि भएको हो । जिल्ला अस्पतालमा ९८ जनाको परिक्षण हुँदा ६४ जना संक्रमित फेला परेका थिए । पालिकाहरु मध्ये त्रियुगा नगरपालिकामा सबैभन्दा बढि २७ जना संक्रमित फेला परेका छन् । बेलका नगरपालिकामा २३, कटारी नगरपालिकामा २१, चौदण्डीगढी नगरपालिकामा ७ र उदयपुरगढी गाउँपालिकामा १ जना संक्रमित फेला परेको हो । हाल रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने संक्रमित देखिएको छैन ।