
पूर्णपुष्टि, साउन १९
गत आर्थिक वर्ष सम्म घाटा व्यहोरिरहेको उदयपुर सिमेण्ट उद्योगले आ. ब. २०७८/७९ मा रु. १६ करोड १३ लाख ७० हजार मुनाफा कमाउने गरी नीति तथा कार्यक्रम एवं बजेट पारित गरेको छ । २४ लाख बोरा सिमेण्ट बिक्रि गर्ने लक्ष्य लिएको छ, यसबाट रु. १ अर्ब ५० करोड ७६ लाख आय आर्जन हुनेछ ।
बिक्री प्रवर्द्वनका लागि अधिकृत बिक्रेताहरुलाई प्रोत्साहित गर्दै निजी कम्पनी संगको प्रतिष्पर्धामा खरो उत्रिने योजनासहित बिक्री नीति तथा कार्यविधि, २०७७ को इन्सेण्टिभको साथै वार्षीक ५० हजार बोरा बिक्री गर्ने अधिकृत बिक्रेतालाई थप ४ रुपैयाँका दरले, एक लाख बोरा बिक्री गर्नेलाई थप रु. ६ का दरले, २ लाख बोरा बिक्रि गर्नेलाई रु. ८ का दरले र वार्षीक ३ लाख भन्दा बढी बिक्रि गर्ने अधिकृत बिक्रेतालाई रु. १० का थप इन्सेण्टिभ दिने व्यवस्था मिलाइएको छ । बिक्रि शाखालाई चुस्त दुरुस्त राखी सोही अनुसारको जनशक्ति राख्ने प्रवन्ध गरिने महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जनाए ।
न्यौपानेका अनुसार पुरानो मेसिन उपकरण भएकोले यस बजेटमा मिल, मेसिनरी, औजारहरुको पूंजिगत प्रकृतिको खर्च गरि क्लिन सेल परिवर्तन गर्न, आरएसपी सिष्टममा लैजान तथा जिर्ण उपकरणहरु फेर्न आवश्यक पर्ने अनुमानित ५० करोड रकम मध्ये रु. १० करोड आन्तरिक स्रोतबाट र रु. ४० करोड अनुदान वा कर्जाबाट व्यवस्थापन गरिने योजना रहेको छ । यसरी उद्योगको स्तरोन्नति हुन सकेमा हालको उत्पादन वृद्धि भै पूर्ण क्षमतामा संचालन हुन जाने देखिन्छ । अहिलेसम्म उद्योग ३० प्रतिशत क्षमतामा संचालित छ । आ. ब. २०७८÷७९ मा कुल क्षमताको ४७ प्रतिशतमा संचालन भएको खण्डमा पनि उद्योगले उल्लिखित नाफा आर्जन गर्न सक्ने उनले बताए ।
उद्योग घाटामा गएपनि सरकारी उद्योग भएकोले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न समेत बजेट विनियोजन गरिएको छ । त्रियुगा नगरपालिका वडा नं. ४, ५, ६ र १६ का बासिन्दाहरु लगायत उदयपुरबासीलाई सहजीकरण होस भनी उद्योगका महाप्रबन्धकको पहलमा देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स मार्फत एक थान एम्बुलेन्सको ब्यबस्थापन गरिएको छ भने संचालनका लागि एक जना ड्राइभरको तलब उद्योगले व्यहोर्ने गरि बजेट बनाइएको छ । उद्योगका कर्मचारी र यस भेगका बासिन्दालाई सहुलियत दरमा प्रयोगशाला परीक्षण गर्ने ब्यवस्था होस भनेर देउरी स्वास्थ्य चौकीमा हाल संचालित प्रयोगशालाको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा छ । थप औजार उपकरणको लागि माछापुच्छ्रे बैंकले सहयोग गर्ने जनाइएको छ । सुकौरा स्थित स्वास्थ्य चौकी स्तरोन्नति र स्वास्थ्य शिविरहरुको लागि समेत बजेट विनियोजन गरिएको छ ।
सार्वजनिक खरिद ऐन, नियम तथा उद्योगको विनियमावली बमोजिम खरिदबिक्रीको प्रक्रिया अप्नाइने गरिएको छ । उद्योगको सम्पत्ति तथा दायित्वको यथार्थ मुल्यांकन गरि आ. व. २०७७/७८ देखिको वित्तीय विवरणहरु नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गरिने व्यवस्था मिलाइएको छ ।
उद्योगको आन्तरिक लेखापरीक्षण गर्न गराउन शुरु गरिएको छ । उद्योगको नाममा रहेको जग्गाको हालसाबिक गरि कित्ता एकीकृत गर्ने कार्य प्रारम्भ भएको छ । उद्योगमा सड्ने अवस्थामा रहेका पत्रुको व्यवस्थापन गरिन लागिएको छ ।
