
पूर्णपुष्टि (उदयपुर), फागुन २८ ।
देशकै ठूलो उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ब्यवस्थापनमा त्रियुगा नगरपालिका ५ स्थित देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स तथा प्रयोगशालाका स्वास्थ्य उपकरणहरु आज उपलब्ध भएका छन् ।
उद्योगका महाप्रवन्धक गोपिकृष्ण न्यौपानेका अनुसार स्वास्थ्य चौकीलाई एकवटा महेन्द्रा बलेरो एम्बुलेन्स प्राप्त भएको छ । त्यसैगरी स्वास्थ्य परिक्षण तथा उपचारका लागि प्रयोगशालाका विभिन्न आधुनिक उपकरणहरु प्राप्त भएका छन् । एम्बुलेनस र प्रयोगशालाका कारण स्वास्थ्य चौकी सुविधा, सम्पन्न बनेको छ । जनशक्तिको हिसावलेसमेत स्वास्थ्य चौकी ब्यवस्थित बन्न पुगेको छ ।
एम्बुलेन्स तथा उपकरणहरुका लागि सगरमाथा एन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुछ्रे बैंक लिमिटेडबाट ५ लाख ६५ हजार र अन्य संघ/संस्थाहरुको सहयोगसमेत गरी कुल ३० लाख सहयोग संकलन भएको जनाइएको छ । उद्योगले आप्mनो सामाजिक उत्तरदायित्व बोध गर्दै ब्यवस्थापनका साथै विशेष पहल गरेको हो । एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको ब्यवस्थापनका लागि उद्योगले ७ लाख रुपैया उपलब्ध गराएको छ ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंखी क्षेत्रीले एम्बुलेन्सको चावी मेयर बलदेव चौधरीलाई हस्तान्तरण गर्नुभयो । उक्त चावी मेयर चौधरीले देउरी स्वास्थ्य चौकीका ब्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाध्यक्ष उद्धवकुमार थापालाई हस्तान्तरण गर्नुभयो । माछापुछ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उपकरण हस्तान्तरण गर्नुभयो । मेयर चौधरीले रगत परिक्षण गरी स्वास्थ्य उपकरणको उद्घाटन भएको थियो ।
एम्बुलेन्स तथा स्वास्थ्य उपकरण हस्तान्तरणको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव नगरवासीका लागि नगरको पहिलो सर्त स्वास्थ्य रहेकोले यो सहयोग कोसेढुङ्गा सावित हुने बताउनुभयो । सहयोगी हातहरुलाई विशेष धन्यवाद दिदै सो स्वास्थ्य चौकीलाई छिट्टै १५ वेडको नगर अस्पताल बनाउने गरी कार्यपालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।
उद्योगले उक्त स्वास्थ्य चौकीलाई आप्mना मजदुर तथा कर्मचारीहरु र उद्योग आसपासका बासिन्दाहरुको स्वास्थ्य परिक्षण तथा उपचारसमेतका लागि ब्यवस्थापनमा जोड दिएको छ । त्यहाँ, सामान्य चेकजाँच र उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष थापाले बताउनुभयो ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले इन्स्योरेन्स भनेको समृद्धीको सुत्र रहेको बताउनुभयो । नेपालमा इन्स्योरेन्स सस्तो रहेको स्मरण गराउदै पशुविमामा सरकारले ८० प्रतिशत अनुदान दिएको कुरा प्रचारमा ल्याउनुपर्ने बताउनुभयो । विमाको अनगिन्ती फाईदाहरु रहेकाले त्यसप्रति सबैले चासो बढाउनुपर्ने बताउनुभयो । उहाँले एम्बुलेन्स प्रदान गर्न पाउदा सामाजिक उत्तरदायित्व पुरा भएको बताउनुभयो । त्यसैगरी माछापुछ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बैंकको तर्फबाट प्रयोगशालाको उपकरण उपलब्ध गराएर सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनुभयो ।
उद्योगको राम्रो ब्यवस्थापनसंगसंगै सामाजिक उत्तरदायित्वलाई अगाडी बढाएकोमा उद्योगका महाप्रवन्धक न्यौपाने धन्यवादको पात्र बन्नुभयो । उहाँको समन्वयकै कारण एम्बुलेन्स र स्वास्थ्य उपकरणहरु उपलब्ध हुन सम्भव भएको थियो ।
उद्योगले स्थानीयप्रति वफादारिता देखाउदै आएको १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । उद्योगबाट निस्कने धुलो, धुवाँको कारण प्रभावित क्षेत्र त्रिनपाका ४,५,६, ७, ८, १० र १६ वडाका बासिन्दाहरुको स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका लागि वर्षेनी करिब ५० लाख आर्थिक स्रोत जुटाउने गरेको छ । प्रदुर्षण क्षेत्रको नाममा प्रतिबोरा सिमेन्ट २ रुपैया ५० पैसा छुट्याउने गरिएको छ ।

