
पूर्णपुष्टि, पौष १४
कोशी टप्पु बन्यजन्तुमा रहेका मुकुना भाले हात्तिले फेरी एक जनाको ज्यान लिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर निस्केको मकुनाले अर्का स्थानीय बासिन्दाको ज्यान लिएको हो । मकुनाले कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल कामतको सोमबार साँझतिर ज्यान लिएको थियो । कामतको शव भने मंगलबार बिहान सोही गाउँपालिकाको वडा ४ कोशीकटान क्षेत्रमा फेला परेका थियो ।
करिब २५ वर्ष उमेरको मकुना हिंस्रक र आक्रमक हुनुमा यौन ‘माद’ (हर्मोन) को मुख्य भूमिका रहेको निष्कर्ष निकाल्दै डार्ट विधि अपनाएर उपचार भइरहेको थियो । करिब दुईसातासम्म लगातार डार्ट विधिबाट पर्फेनाजिन र जोलाजिन औषधि दिइएको थियो । उक्त औषधिले हात्तीको शरीरमा माद उत्पादनमा कमी ल्याउने र शान्त पार्ने कोषका चिकित्सक डा. अमिर सडौलाले बताएका थिए । उनले मकुना शान्त हुन थालेको र नियन्त्रण उन्मुख रहेको बताएका थिए ।
यसअघि मकुनाले आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा चारवर्षको अवधिमा एक्लैले १८ जनाको ज्यान लिसकेको छ । पछिल्लो समयमा गत मंसिर २९ गते बिहान सोही गाउँपालिकाको श्रीपुर बस्ने २८ वर्षीय प्रमोद यादवको ज्यान लिएको थियो ।
स्थानीयहरु मुकुनाको आक्रमणमा आन्दोलनरत रहेका छन् । चिकित्सकले प्रभावकारी उपचार नगरेको भन्दै अरुनै बिकल्प खोजी गरी यसको समाधान गर्नु पर्ने माग राखेका छन् ।
हात्ती पीडित स्थानीयबासीहरुले मृतकको शव राजमार्गमा राखेर प्रर्दशन गरेका थिए । उनीहरु दीर्घकालिन समस्या समाधान गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपीसहित सुरक्षा प्रमुख, गाउँपालिकाका अध्यक्षसहितको टोली आन्दोलनरत स्थानीयबासीसँग छलफल गर्न कोशी कटान क्षेत्रमा पुगेका छन् । यसअघि मकुना बहुलाएको भन्दै मार्ने निर्णय भएको थियो । तर, पछि विरोध भएपछि प्राविधिक टोलीले अध्ययन गर्न आएको छ । उक्त टोलीले मकुना नियन्त्रणमा आउँदै गरेको भनिरहँदा सोमबार पुनः व्यक्तिको हत्या गरेको हो ।
