
पूर्णपुष्टि, चैत २४ गते ।
एक २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको छ । पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाविर्ता घर भई बराको कलैया बस्दै आएकी सीता भनिने कविता पटेलमाथि एसिड प्रहार भएको हो । चैत ११ गते उनीमाथि कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै एसिड आक्रमण भएको प्रहरीले जनाएको छ ।
जेठाजु रामबाबु साह र ससुरा हवारी साहले नचिनेका अरु दुई जना मानिसको सहयोगमा एसिड प्रहार गरेको आरोप उनले लगाएकी छन् । घटनाको दिन वीरगञ्जमा वकिलसँग भेटेर स्कुटरमा डेरा फर्कने समयमा उनीहरुले पिछा गरेको र घेरा हालेर एसिडले आक्रमण गरेको तथा गरगहना र नगद लुटेर लगेको आरोप उनको छ ।
प्रहरीले कविताका जेठाजु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘उनीहरु विरुद्ध एसिड आक्रमणको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं’ उनले भने ।
उनीहरुले प्रहरीसमक्ष आफूहरुले एसिड आक्रमणमा संलग्नता नरहेको बयान दिएका छन् ।
आफ्नो उपचार राम्रोसँग होस र आफूलाई एसिड आक्रमण गर्नेहरु विरुद्ध कानुनी कारबही होस् भन्ने माग पिडीतले गरेको प्रहरीले जनाएको छ ।
उनको उपचारमा अस्पतालमा रहेको ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले’ सहयोग गरिरहेको नर्सले जानकारी दिए । सुरुमा ओसीएमसीमा उनको बारेमा जानकारी नै थिएन, एक सातादेखि औषधिको व्यवस्था मिलाउनेदेखि आवश्यक सहयोग गरिरहेको ओसीएमसीले जनाएको छ । थप उपचारका लागि काठमाडौं पठाउन सकिन्छ कि भनेर केन्द्रमा समन्वय पनि गररहेको जनार्ईएको छ ।
