Sunday, June 28News That Matters

उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

पूर्णपुष्टि, असोज ११ ।

उदयपुर सिमेन्ट उद्योग, जलजलेले लकडाउनसंगै कामबाट विदा दिएका मजदुरहरुले पुनः नियुक्तिको माग राख्दै आन्दालित बनेका छन् । गत २ देखि ८ गतेसम्म उद्योगको गेटमा धर्ना बसेका उनीहरुले आज विभिन्न माग राख्दै उद्योग अगाडी नाराजुलुस गरे । मजदुरहरुलाई काममा लगाउनु पर्ने, मजदुर ल्याउनेमा ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने र उद्योग घाटामा जानुको कारण छानविन गर्नुपर्ने माग राखेका छन् । उनीहरुको आन्दोलनमा नागरिक समाज तथा उद्योगको प्रदुर्षण क्षेत्रका नागरिकहरुले पनि एकता जनाएका छन् ।

लकडाउनपछि काममा लगाउने भनेको उद्योगले छ महिना वित्दा पनि काम नदिए पछि खान लाउन समस्या परेको भन्दै मजदुरहरुले पुनः काममा राख्न माग गरेका छन् । “हामी उद्योगकै लागि खटिरहेको मान्छे, लकडाउनको निहु पारेर उद्योगले विदा गर्यो । छ महिना वित्यो, फेरी काममा राख्न उद्योग तयार छैन” मजदुर विष्णु खड्काले भन्नुभयो “रोजीरोटी हराएसंगै हामीलाई परिवारको पेट भर्न समस्या परेको  छं ।” उद्योगले १ सय ३ जना मजदुरलाई गतवर्षको चैत ११ गते लकडाउन सुरु भएकै दिनदेखि विदा गरेको थियो । बरिष्ठ मेकानिकलदेखि प्राविधिक सहयोगीसम्म विभिन्न पदका ती सबै मजदुरहरु उद्योगसंगको सम्झौतामा कस्तुरी सर्भिसेज प्रा.लि. अनामनगर काठमाडौंले उपलब्ध गराएको थियो । जनशक्ति आपूर्तीकर्ता सो कम्पनीले २०७५ चैत १३ गते उद्योगसंग २ वर्षका लागि सम्झौता गरी २०७६ वैसाख १ देखि मजदुरहरु काममा खटिएका थिए । ती सबै मजदुरहरुले पुनः नियुक्तीको माग राख्दै आन्दोल गरिरहेका छन् ।
लकडाउनका कारण उद्योग राम्ररी नचलेको र धरासायी बनेको भन्दै उद्योगले पुन काममा लिन मानेको छैन । लकडाउन पछि उद्योग त्यति नचलेकाले हाल मजदुर राख्न आवश्यक नदेखिएको र उद्योगको आर्थिक अवस्था खस्केकाले पनि मजदुर राखेर ब्याय भार बढाउन नचाहेको उद्योगका निमित्त महाप्रवन्धक नवलकिशोर साहले बताउनुभयो । उद्योग राम्ररी चलेपछि के, कति मजदुर आवश्यक पर्छ, सोही बमोजिम मजदुर माग गरिने उहाँले बताउनुभयो ।

ठेकेदार कम्पनीलाई श्रमशोषणको आरोप

मजदुरहरुले जनशक्ति आपूर्तीकर्ता कम्पनीले आफुहरुको श्रमशोषण गरेको आरोप पनि लगाएका छन् । जनशक्ति आपूर्तीकर्ता कस्तुरी सर्भिसेज प्रा.लीले उद्योगबाट उपलब्ध गराउने पारिश्रमिक भन्दा आधा दिने गरेको बताए । सहयोगी स्तरको मजदुरको नाममा २१ हजार ५ सय मासिक पारिश्रमिक लिने कम्पनीले मजदुरलाई १३ हजारको हाराहारीमा भुक्तानी दिने गरेको र ४१ हजार ५ सय मासिक पारिश्रमिक रहेको बरिष्ट पदका मजदुरको २४ हजारको हाराहारीमा भुक्तानी दिएको उनीहरुको भनाई छ । हालसम्म कम्पनीले पारिश्रमिक उल्लेखित सम्झौता पत्र उपलब्ध नगराउनुका साथै सामाजिक सुरक्षा कोष, दुर्घटना विमा, सञ्चय कोष जस्ता महत्वपूर्ण कागजातहरु उपलब्ध नगराएको बताएका छन् ।
मजदुरहरु यस कुराको विरोधमा सामुहिकरुपमा उत्रिदै मजदुर ठेकेदारी प्रथाको अन्त्यको माग राखेका छन् । साथै हालसम्म कम्पनीले मजदुरबाट गरेको श्रमशोषणको मूल्यांकन गरी क्षतीपूर्ती भर्नुपर्ने माग पनि राखेका छन् ।

जनशक्ति आपूर्ती कम्पनीमार्फत आएका मजदुरहरुको सेवा सुविधाको हकमा सम्पूर्ण जवाफदेहि कम्पनी नै हुने उद्योगले जनाएको छ । यस विषयमा कम्पनी अाधिकारिक ब्यक्तिसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

संघर्ष समिति र नागरिक दवाव समुह नै गठन

आज भेला भएका मजदुर तथा नागरिक समाजका ब्यक्तिहरुले माग पुरा नभएसम्म सशक्त आन्दोलन चर्काउने भन्दै संघर्ष समिति तथा दवाव समुह गठन गरेका छन् ।सन्तोष खड्काको संयोकत्वमा ११ सदस्यीय मजदुर संघर्ष समिति बनेको छ । समितिको सदस्यहरुमा भुमराज राई, भिम तामाङ, तारा परियार, विनय चौधरी, श्रवण कोइराला, अजय चौधरी, धविनन्द चौधरी, विशेष मोची, तेजबहादुर खड्का र दिलिप चौधरी रहेका छन् ।
त्यसैगरी मुकेश राईको संयोजकत्वमा ११ सदस्यीय नागरिक दवाव समुह बनेको छ । दवाव समुहको सदस्यहरुमा शंकर थापा, दिपक राई, सत्रुधन तामाङ, ज्ञान तामाङ, केशब आचार्य, महेश्वर खत्री, देवबहादुर कार्की, दिपककुमार बान्तवा, केशब थुलुङ राई र हरि श्रेष्ठ रहेका छन् ।

वार्ताबाट समस्या समाधान खोजिने

यसैबीच मजदुरहरुले नाराजुलुस सहितको आन्दोलन मच्चाए पछि उद्योग प्रशासन र आन्दोलनरत मजदुर अगुवाहरुसंग केहीबेर उद्योगभित्र छलफल बस्यो । प्रदुर्षण क्षेत्र अन्तर्गत पर्ने त्रियुगा नगरपालिकाको वडा नं. १६, ६ र ५ का वडाध्यक्षहरुसहित बसको दुबै पक्षले छलफलबाटै समस्याको समाधान खोज्ने निचोड निकालेको छ । त्यसका लागि आन्दोलनरत मजदुरहरुको तर्फबाट वार्ताटोली चयनसहित लिखितरुपमा उद्योगलाई आफ्ना मागहरु पेस गर्ने र उद्योगको तर्फबाट पनि वाताटोली तोक्नुपर्ने भएको छ ।यसै अनुरुप मजदुरहरुको तर्फबाट बार्ताटोली चयन भइसकेको छ । आन्दोलनत मजदुरहरुको तर्फबाट बार्ताटोलीका लागि मुकेश राई, सत्रुधन साह, दिपक किराती, शंकर थापा र ज्ञाने तामाङ चयन भएका छन् । उनीहरुले भोली नै उद्योगमा लिखित मागसहितको ज्ञापन पत्र बुझाउनुका साथै मजदुर युनियनहरु, जिल्ला प्रशासन, त्रियुगा नगरपालिकासमेतमा बुझाउने बताएका छन् ।

तस्विरहरू :