
पूर्णपुष्टि, असोज २०
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई वटा गैंडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
नारायणी हुँदै गण्डक व्यारेजबाट तलपट्टि बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जले जनाएको छ ।
भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको जनाएको छ ।
त्यस्तै सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टि बाटोको ढिकमा उधोमुन्टो भइ अर्को अन्दाजी १२ वर्षको भाले गैंडा मृतावस्थामा फेला परेको छ । मृत गैंडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।
गैंडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ । गैंडाको खाग र खुर भने सुरक्षित रहेको जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न कारणबाट सात वटा गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा अहिले ६०५ गैंडा रहेका छन् ।

