
सुनिल राई÷गाइघाट, फागुन २ । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा वुमेन्स च्याम्यिनसिपमा शनिवार भएको खेलमा एफ सी रियलको पोष्टमा नेपाल पुलिस क्लबले १० गोल गरेको छ । खेलको पहिलो हाफमा ६ गोल गरेको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको हो । पुलिस क्लबका लागी जर्सी नं. ९ की रेखा पौडेलले डब्बल ह्याट्रिक गरिन् ।
खेलको ११, १२ र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी उनले पहिलो हाफको इन्जुरी समयको २ औँ मिनेटमा पुन १ गोल गर्दै ४ गोल गरिन् । पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेकी उनले खेलको ७२ र ७७ औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पुरा गरिन् । त्यस्तै पुलिसका लागी जर्सी नं. ३४ की मिना देउवाले २ गोल गरिन् भने जर्सी नं. २ की पुजा राणा मगर र जर्सी नं. २९ की बिर्सना चौधरीले १–१ गोल गरिन् ।
आजको खेलको म्यान अफ दि म्याच पुलिसकी छ गोल गर्ने रेखा पौडेल भइन् । एफसी रियल विरुद्ध नेपाल पुलिस कडा रूपमा प्रस्तुत भएको थियो । खेलको सुरुदेखि नै दबदबा कायम गरेको पुलिस विरुद्ध एफसी रियलले गोल फर्काउन सकेन । गोलको अन्तरलाई रोक्ने कोसिस गरिरहे पनि विफल भयो । आगामी ९ गते फाईनल हुने प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ ।
उपाधी विजेतालाई ७ लाख पाँचहजार र र उपविजेतालाई ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ । जस अनुसार हिजो र आजमा गाइघाट फुटबल क्लव रे एफसी रियल बाहिरिएको छ । एनआरटी र नेपाल पुलिस क्लब अगाडि बढेको छ ।
आजको दोस्रो खेल चर्चबेच युनाइटेड काठमाडौँ र छहारी युथ क्लब बीच हुनेछ । भोलिको एकमात्र खेल एपीएफ र आरएस रिसोर्टबीच हुनेछ । अन्य प्रतियोगि टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा फुटबल क्लब रहेका छन् ।

