
पूर्णपुष्टि, वैशाख २७ गते ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ मा जग्गा जालसाजी गरी ठगी गरेको अभियोगमा तीन जना कारागार चलान भएका छन् । भोटखोला गाउँपालिका–४ का नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुरी र भोटखोला –४ का स्थानीय सुरेन्द्र तामाङ कारागार चलान भएका हुन् ।
जग्गाधनीलाई जानकारी नदिई २७ रोपनी रजिस्ट्रेसन पास गरेको अभियोगमा तीनै जना कारागार चलान भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।
फागुन २२ गते भोटखोला–४ कि विममाया तामाङको २७ रोपनी जग्गा जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी परेको थियो ।
उजुरी लगत्तै प्रहरीले जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुली, भोटखोला –४ सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिका –१ का पासाङ शेर्पालाई प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका सातै जना विरुद्ध ठगी र संगठित अपराध मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।
जग्गा ठगी मुद्दामा पक्राउ परेको अन्य चार जना भने धरौटीमा रिहा भएका छन् । अदालतले लेखापढी व्यवसायी अनिष गुरुङ, कप्पना भोटे र ङिमा लाजुङ भोटेलाई बिहीबार जनही २ लाख ५० हजार रुपैयाँ र चैनपुर १ का पासाङ शेर्पालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
