Thursday, May 7News That Matters

ऐतिहासिक गजुलकोट दरबारको संरक्षण तथा प्रवद्र्धन सुरु

पूर्णपुष्टि, असार ९

१५ औँ शताब्दीको इतिहास बोकेको रोल्पा गजुलकोट दरबार संरक्षण तथा प्रवद्र्धनको काम सुरु भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारबाट विनियोजीत रकमबाट ऐतिहासिक गजुलकोट दरबारको संरक्षण गर्ने काम सुरु भएको हो ।

प्रदेश सरकारको ३० लाख रकममा दरबारसम्म पुग्न सिँढी र पहिरो गएको ठाउँमा पर्खाल लगाउने काम भइरहेको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ ।

बर्सेनि पहिरो खस्ने समस्याको कारण जोखिममा रहेको दरबार क्षेत्रलाई अहिले ग्याविन वाल र मेसिनरी वाल लगाइ संरक्षणको काम भइरहेको छ ।

१५ औँ शताब्दी भन्दा पहिले रूकुमकोट राज्यमा रहेको यस क्षेत्रमा सल्यानबाट आएका राजा तुठासेनले गजुलकोटको रुपमा छुट्टै राज्य बनाइ शासन गरेका थिए । रुकुमकोटका राजा जयन्त बर्माका छोरी तुम्बावतीसँग बिहे गरी १८ वटा गाउँलाई दाइजोको रुपमा रुकुमकोटबाट छुट्टाएर गजुलकोट राज्य बनाइएको इतिहास छ । ऐतिहासिक गजुलकोट दरबारको बारेमा विभिन्न प्रमाणहरु सङ्कलन गरी पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको छ ।

६ सय वर्ष पुरानो इतिहास बोकेको गजुलकोट दरबारको संरक्षण तथा प्रवद्र्धनको आवश्यक रहेको छ ।