
पूर्णपुष्टि, माघ १९
लामो समयदेखि प्रकाशन हुन नसको कक्षा १२ को नतिजा आज सोमबार प्रकाशन गर्ने निर्णय राष्ट्रिय परिक्षा बोर्डले गरेको छ ।
बिभिन्न समस्या देखाउँदै बोर्डले १२ को नतिजा प्रकाशनमा ढिलाई गरेको थियो ।
परिक्षा सकिएको १५ दिन भित्रै नतिजा प्रकाशन गर्ने भनिए पनि बोर्डले समयमा नतिजा प्रकाशन गर्न सकेन । उसै पनि कोरोनाले ढिलाई गरेको परिक्षा नतिजा प्रकाशनमा पनि ढिलाई भएको थियो ।
आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार बिहान १० बजेपछि बोर्डको बैठक बोलाएको छ ।
चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।
यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।
वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।
