
पूर्णपुष्टि, जेठ २० गते ।
कक्षा १२ मा पास भएर २० वर्ष पुर पुगेपछि मात्रै विवाह गर्ने छोरीहरुलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरि सम्मान गरिने निर्णय भएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरुलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय अघि सारेको हो । यो कार्यक्रम गाउँपालिकामा नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ ।
‘यहाँ ६०÷७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था भयावह छ। १४–१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ महतोले भने,‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’
एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जान्छ ।
