Saturday, May 16News That Matters

कञ्चनपुरमा भेटियो लोपोन्मुख पन्छी सुन गिद्धको गुँड

काठमाडौं, १८ भदौं। लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले बताए।

सुन गिद्ध नेपालमा पाइने रैथाने गिद्ध हो । नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये छ प्रजाती रैथाने हुन् जसले नेपालमा गुँड बनाएर बच्चा कोरल्छन् । बाँकी तीन प्रजाती जाडो याममा बसाइँसराइँ गरी आउँछन् ।

विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको यस गिद्धको नेपालमा अनुमानित संख्या २ सयदेखि ४ सयको हाराहारीमा छ । नेपाल पन्छी संरक्षण संघले हालसम्म यसका १६ गुँडहरु फेला पारेको जनाएको छ । पश्चिम नेपालको मध्य पहाडमा रूखमा गुँड बनाउने यस चराको गुँड पहिलो पटक आधिकारीक रुपमा सन् २०१२ मा पाल्पा जिल्लामा भेटिएको थियो ।