
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको कटारी नगरपालिका वडा नं. १ स्थित माथिल्लो खसिबासका स्थानीयवासी गम्भीर खानेपानी समस्याको सामना गरिरहेका छन् ।
त्यस क्षेत्रमा खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानीमै निर्भर रहन बाध्य छन् । स्थानीय ज्ञानबहादुर तामाङका अनुसार हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको छ । ‘माथिल्लो गाउँमा पानीको समस्या अत्यन्त गम्भीर छ । लुगा धुन, नुहाउन त हामी तल्लो गाउँतिर लुगा बोकेर आउँछौं, तर गाईवस्तुलाई पानी खुवाउनसमेत ठूलो समस्या छ,’ उनले बताए ।
माथिल्लो खसिबासमा करिब ५० देखि ६० घरपरिवार यो समस्याबाट प्रभावित छन् । तल्लो खसिबासमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा भए पनि माथिल्लो खसिबासमा कुनै पनि खानेपानी आयोजना छैन ।
स्थानीयहरूका अनुसार वर्षायाममा खोलामा बाढी आउँदा पानी धमिलो हुने र पिउनै नमिल्ने हुन्छ । हिउँदमा भने खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने बाध्यता छ । तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त नभएको स्थानीयको गुनासो छ । खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेहरूलाई पनि वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने समस्या रहेको छ ।
चारैतिर चुरे वनले घेरिएको यस क्षेत्र पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्याले गर्दा स्थानीयवासीले ठूलो कठिनाई झेलिरहेका छन् । स्थानीयहरूले नगरपालिकाले चाँडो खानेपानी आयोजना ल्याउनुपर्ने माग राखेका छन् ।
