
आशिष वस्नेत
१ माघ २०७६
कटारी / कटारीको त्रिवेणीमा १५ दिने मैनी मेला माघ १ गते बाट सुरु भएको छ । कटारी नगरपालिका वडा नं २ स्थित हरेक बर्षको मांघे संक्रातिको अवसरमा लाग्ने यो मेला यो पटक पनि १५ दिने लाग्ने भएको छ ।
स्थानीयहरुको अनुसार पहिले एक महिने लाग्ने मंकर मेला द्धन्नकाल पछि अहिले १५ दिने मैनी मेला लाग्ने गरेको छ । मैनी मेला कटारीको मात्र नभएर जिल्लाकै ठुलो मेला पनि हो । यस मेलाले कटारी त्रिवेणीको ठुलो परिचय राखेको स्थानीयहरुको भनाई छ ।
कमला , ककरु र तावा खोलाको किनार त्रिवेणी घाटमा लाग्ने यो मेला त्रिवेणी मेला भनेर पनि प्रख्यात छ । त्रिवेणी घाटमा भाकल गरेअनुसारको वलिदिई पुजा आजा गर्नाले चिताएको पुग्ने जनविश्वास तिर्थालु भक्तजनहरुमा छ ।
मेलामा पुजाआजाको लागि बिभिन्न जिल्लाहरु खोटाङ, सोलुखुम्वु, सिराहा, सप्तरी लगएत भारतबाट समेत आउने गरेको छ ।
मेलामा लोप हुदै गएको सोलुखुम्वुको भोटे घोडा, खोटाङगे भोटे कुकुर, ओखलढुङगाको राडीपाखी, सिन्धुलीको जुनार, आदिलाई बिषेश आकर्षको रुपमा मानिन्छ ।
त्रिवेणीमा अहिले मकर नुवाई पुजा आराधना गनेहरुको घुईचो हुने गरेको छ । माघेसंक्रान्तिको विहानैदेखी मकर नुहाउन तीर्थालुहरु त्रिवेणीमा पुग्ने गर्छन् । नगरपालिकाले यस वर्षको मेला भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर व्यवस्थापन गर्न लागिपरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
वडाध्यक्ष प्रेम थापाले मेलाको व्यवस्थापनका लागि सार्वजनिक शौचालयहरु निर्माण भएकोले सहज भएको बताउनुभयो । यस बर्षको मेला थप व्यवस्थापन सहित सुरु गरेको मेला समितिका अध्यक्ष केशव धमलाले जनाएको छ । यो परापूर्वकालदेखि नै लाग्दै आएको मेलामा सबै ठाउँहरुबाट आउन समेत सबैलाई आग्रह गर्नुभयो ।
