Saturday, April 18News That Matters

कटारीमा २ जनामा डेंगु भेटियो

उदयपुर, साउन २७ गते ।

कटारीमा डेंगुको संक्रमणका दुई जना विरामी फेला परेका छन् । अस्पतालमा उपचार गराउन आएका दुई जना विरामीमा डेंगु एंटिजन पोजेटिभ फेला परेको हो ।

एक साता देखी लगातार ज्वरो आएर अस्पतालमा उपचार गर्न आएका कटारी नगरपालिका– ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहाललाई डेंगू हुन सक्ने भन्दै ल्याव टेस्ट गर्न डाक्टरहरुले सुक्राव दिए अनुसार जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत जाँच गराउँदा डेंगू एंटीजन पोजेटीभ देखिएको कटारी अस्पताल प्रमुख डा.पवन शाहले  बताए ।

यस भन्दा पहिले कटारीमा डेंगु रोगका संक्रमण देखा परेको थिएन । डेंगुको संक्रमण फेला परेपछि विरामीको घरपरिवारलाई सफासफाई गर्न डाक्टरले सुझाव दिएको छ । डेंगु संक्रमण भेटिएपछि कटारी अस्पताल पुगेर तत्कालनै डेंगूको टेस्ट गर्न चाहिने किट तत्काल उपलब्ध गराई  बिरामीको उपचारमा कुनै कमी हुन नदीन कटारी नगरका मेयर  ज्ञानेन्द्र श्रेष्ठले निर्देशन दिएको छ ।

रोकथामको लागी कटारी क्षेत्रमा केहि समय अगाडी अभियान सहित सरसफाई कार्यक्रम गर्दै आएको मेयर श्रेष्ठले बताए । कटारीमा डेंगु संक्रमण देखिएको छ हामी संबेनशील छौ यद्यपी घर वरिपरी पानी जमेको छ भने लामखुट्टेले फुल पार्न सक्छ, त्यसैले निरन्तर रुपमा सरसफाईमा ध्यान दिन समेत जरुरी रहेको उनले बताए ।

कटारी नगरपालिका स्वास्थ्य शाखाले डेंगु नियंत्रण गर्न अभियान गरे पनी खासै प्रभाबकारी नभएको कटारीका स्थानिय सत्रुधन कार्कीले बताए । नगर पालिकाले बजेट सक्ने काम मात्र गरेको उनको आरोप छ ।

वर्षादको समय सकिएसँँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने अस्पतालका  डाक्टर गौरब शाहले बताए ।

डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्छ । वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने जस्ता लक्षण देखिने पनि डा. शाहले बताए ।