
पूर्णपुष्टि, बैशाख २८ गते ।
विश्वको विभिन्न देशमा छरिएर रहेका नेपाली मध्ये कोरोना भाईरस (कोभिड–१९) बाट कतारमा रहेका नेपाली बढी संक्रमित भएका छन् । स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म कतारमा २ हजार ३ सय जना नेपालीमा कोरोना संक्रमण देखा परेको जनाएको छ ।
नेपाल बाहेक विश्वका विभिन्न देशमा रहेका ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपाली कोरोना संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपाली उपचारपछि निको भएको अनुमान गरिएको छ ।
कतारमा २ हजार ३ सय, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, साउदी अरबमा ३०, साईप्रसमा ३, मलेसियामा ४९, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण देखिएको जनाईएको छ ।
तर पछिल्लो समयमा आएर विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण हुनेको संख्या घट्दो देखिएको जनाईएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमणको दर घटेको स्वास्थ्य समितिले जनाएको छ ।
संक्रमित मध्ये ९ देशमा रहेका नेपालीको कोरोना संक्रमणबाट ७८ जनाको मृत्यु भएको समितिले जनाएको छ ।
