
पूर्णपुष्टि, साउन २७
करेन्ट लागेर धनुषामा दुईजना युवाको ज्यान गएको छ । प्रहरीका अनुसार क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित पर्सा टोलका पुरन यादवको घरमा आयोजित हनुमान आरधना कार्यक्रममा मंगलबार साँझ करेन्ट लागेर दुई जना भजन मण्डलीको ज्यान गएको हो । ज्यान गुमाउनेमा लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् ।
आरधनाको क्रममा पानी परेको बेला माइकमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक सुनारले जानकारी दिनुभयो ।
उनीहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
