Monday, November 9News That Matters

कविता वाचनसँगै मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

वीरसबाबु शाही, पूर्णपुष्टि

२२ कार्तिक २०८३, उदयपुर । त्रियुगा प्रज्ञा प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित मनाइएको छ। नगर प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्लाका युवा तथा अग्रज साहित्यकारहरूले देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै कविता वाचन गरेका छन्।

नेपाली साहित्यमा महाकवि देवकोटाले पुर्‍याएको अतुलनीय योगदानको चर्चा गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन उहाँको जन्मजयन्ती मनाउने गरिन्छ। नेपालसहित भारतका विभिन्न भूभाग तथा नेपाली भाषीहरूको बसोबास रहेका क्षेत्रमा समेत यो दिवस मनाइन्छ।

कार्यक्रमबारे जानकारी दिँदै त्रियुगा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कौशल चेम्जोङले देवकोटाको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कविता वाचन कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा राममणि पोखरेल, पुण्य कार्की, उद्धव घिमिरे, महेन्द्र राई, टंक आले मगर, चन्द्रनारायण चौधरी, बासु पोखरेल, गोठकृष्ण ठकुरी, कृष्णकल्प दुलाल र ओमप्रकाश सिंहलगायतका साहित्यकारहरूले देवकोटाको साहित्यिक व्यक्तित्व र योगदानमाथि चर्चा गर्दै आ–आफ्ना कविता वाचन गरेका थिए।

वि.सं. १९६६ साल कात्तिक कृष्ण औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासंग्रह नेपाली साहित्यका महत्त्वपूर्ण तथा युगान्तकारी कृतिका रूपमा स्थापित छन्। नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका देवकोटाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमले उहाँको साहित्यिक योगदानको पुनःस्मरण गराएको छ।