Wednesday, June 17News That Matters

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा, बनाए विश्व किर्तिमान

पूर्णपुष्टि, जेठ ९ । सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले मंगलबार २८ औं पटक सगरमाथाको सफल आरोहण गर्दै विश्व किर्तिमानी कायम गरेका छन् ।

कामीरिता आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान बनाएका हुन् ।

गत हप्ता कामीरिताले २७ औं पटक सगरमाथाको सफल आरोहण गर्दै सार्वाधिक किर्तिमान बनाएका थिए भने सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले सोमबार सगरमाथाको आरोहण गर्दै उनको कीर्तिमानसँग बराबरी गरेका थिए । पासाङले किर्तिमान बराबर गरेपछि आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेका थिए ।

५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । २०५१ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिता २४ वर्षका थिए।