Friday, May 15News That Matters

कारागार भित्रै गरे कैदिले पासो लगाएर आत्माहत्या

पूर्णपुष्टि, मंसिर १
रौताहटमा एक कैदीले कारागार भित्रै आत्महत्या गरेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका ७ का २१ वर्षीय लडाइँ साह तेलीले कारागारको शौचालयमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको गौर कारागारका प्रमुख शम्भु यादवले बताए । ‘अपराह्न शौचादी गर्न गएका तेली घाँटीमा पासो लगाएर झुण्डिएको अन्य कैदीले देखेपछि बचाउने प्रयास गरेका थियौं,’उनले भने, ‘उनले किन आत्महत्या गरे भन्ने अनुसन्धान भइरहेको छ ।’ अचेत अवस्थामा रहेका तेलीलाई भित्रका कैदी र जेल प्रशासन मिलेर तत्कालै उपचारका लागि गौर अस्पताल लगेको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनायो ।

रौतहटको सदरमुकाम गौरस्थित कारागारमा रहेका कैदीले बुधबार आत्महत्या गरेका हुन्। अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा सजाय भोगीरहेका कैदीले कारागारको शौचालयमा घाँटीमा गम्सा बेरेर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरले ईलाका प्रहरी गरुडाले तेलीउपर अपहरण तथा शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा चलाई अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतसमक्ष पेस हुँदा २०७६ वैशाख ४ गते २१ वर्ष कैद सजाय र ३० हजार जरिवानाको सजाय भएको बताए ।

२०७५ साल माघ २६ गते नाबालिका अपहरण गरेर भारत पुर्‍याएको आरोपमा तेलीलाई ईलाका प्रहरी कार्यालय गरुडाले पक्रेको थियो । पीडितको जाहेरीपछि तेलीलाई अपहरण तथा शरीरमा बन्धक एवं जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो । पीडितले आफ्नो नाबालिका छोरीलाई अपहरण गरी भारत पुर्‍याएको आरोप लगाउँदै कारबाहीको माग राखेर किटान जाहेरी दिएपछि तेली पक्राउ परेका थिए ।