
पूर्णपुष्टि, बैशाख १८ गते ।
कालीकोटको पचालझरना गाउँपालिका–१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । कुटपिटबाट घाइते भएका वडाध्यक्ष नौपानेलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष कुटपिटमा संलग्न रहेका पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेको प्रहरीले जनाएको छ । मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ वडाको बैठक सकेर फर्किने क्रममा युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका वडाध्यक्षमाथि कुटपिट भएको गाउँपालिकाले जनाएको छ ।
वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
