
पूर्णपुष्टि, फागुन १०
विश्वको सवै भन्दा अग्लो ठाउँमा जुम्लाको काली मार्सी धान फल्ने छुमचौर पर्यटकीय नयाँ गन्तब्यको सूचीमा परेको छ ।
नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमा पातारासी गाउँपालिका–३ छुमचौर जिउलो पर्यटकीय नयाँ गन्तव्यको सूचीमा काली मार्सी धान फल्ने छुमचौर नयाँ गन्तव्यको सूचीमा परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो ।
देशभरका २०० पालिकामा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको जनाइएको छ । पर्यटन गन्तव्य सूची छनोट गर्नुकासाथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने काली मार्सी धानको संरक्षण तथा सम्वर्द्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले ६० लाख रुपैयाँ र मन्त्रालयले एक करोड ४० लाख रुपैयाँ लागत साझेदारी गर्नेछन् । दुई हजार आठ सय ५० मिटर अग्लो ठाउँमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छ ।
सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ सुरु गरिएको जनाईएको छ । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । त्यो समयमा बालबालिका र बुढाबुढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ ।
गाउँपालिकाले छुमचौरलाई पर्यटकीय गन्तव्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । त्याहा दुई सय रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ । मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने पालिका छनोट गरेको हो ।
पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्नसक्ने भन्दै छुमचौर जिउलो संरक्षण र प्रवद्र्धनका लागि झण्डै आठ करोड रुपैयाँको डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) बनाइएको जनाएको छ ।
पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेको थियो ।
