Sunday, June 21News That Matters

काेराेना खबर अपडेट | ३१ वैशाख, २०७८ | पहाडतिर समुदायमा फैलिएकाे संक्रमणबारे वडाध्यक्षसंग भिडियाे संवादसहित

१.

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १४ महिला र ३६ पुरुष रहेका छन् । त्रियुगा नगरपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिमा ११ जनामा संक्रमण देखिएको छ । त्येसैगरी बेलका नगरपलिकामा ६ जना, लिम्चुङबुङ गाउँपालिकामा ७ जना र उदयपुरगढी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन र कोरोना जितेर निको हुनेको संख्या पनि थपिएको छैन । स्वास्थ्य कार्यालयको तथ्याङकअनुसार जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ र निको हुनेको संख्या ४ रहेको छ । संक्रमितहरु मध्ये ३ सय २० जना होम आ्इसोलेशनमा छन् भने २३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ।

२.

जिल्लाको ८ पालिका मध्ये उच्च संक्रमणको स्थान ओगटेको त्रियुगा नगरपालिकाको माथिल्लो पहाडी भागमा पनि कोरोना संक्रमण तिव्र देखिएको छ । वडा नं १६ मा हिजो र आज गरी १५ जनामा संक्रमण पुष्टि भएको छ । वडाको बेल्दोभान, जाँते, सरस्वती र तिनतले क्षेत्रमा संक्रमण देखिएको हो । वडा अध्यक्ष मानवहादुर राईका अनुसार त्यस क्षेत्रमा ठुलो संख्यामा ज्वरो आएको खवर पछि हिजो ५ जनाको नमुना परिक्षण गरिएको थियो । नगरपालिकामा बोलाई परिक्षण गरिदा ५ जनामै संक्रमण पुष्टि भएको थियो । लगत्तै वडाले आज स्वास्थ्यकर्मीको टोली आधारभूत विद्यालय बेल्दोवानमा लगी २३ जनाको परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा अन्य बिरामीहरु पनि रहेको वडाको अन्य ठाउँहरुबाट पनि ज्वरोको खबर आईरहेकाले वडामा समुदायु भित्र कोरोना संक्रमाण फैलिएको वडाअध्यक्ष राईले बताउनुभयो । वडाको संक्रमित क्षेत्र खासगरी बेल्दोभान र आसपासको ठाउँलाई कोरोना संकट क्षेत्र घोषणा गर्न र शिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समिति संग माग गर्ने अध्यक्ष राईले बताउनुभयो । तत्काल त्यस क्षेत्रलाई सिल नगरे ठुलो संकट पैदा हुने देखिएको छ । अधिकांश ज्याला मजदुरी किसान गरिब नागरिकको बसोवास रहेको छ । हाल संक्रमण देखिएकाहरु पनि अधिकांश गरिब सर्वसाधरणहरु हुन् । हाल संक्रमितहरु सबैलाई होम आईसोलेसनमै सुरक्षित ढंगले राखिएको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा कोरोना फैलिनुका कारण सदरमुकाम गाईघाट नजिक रहेको र गाईघाट बोक्सेका मानिसहरु दिनदिनै जाने आउने खाने बस्ने गरेका छन् । साथै उदयपुरको उत्तरी क्षेत्र र रौतामाई गाउँपालिका, खोटाङ, त्रिनपाकै १४ र १५ वडा जाने आउने मुख्य नाका बेल्दोभान हो । यसै कारणले पनि संक्रमण फैलिएको वडाको ठहर छ । साथै बेल्दोभान नजिकै १५ नं वडामा पर्ने लाटाङ खोला ठाउँबाट ढुङगा उत्खननको कार्य भईरहेको छ । त्यसका ढुंगा ढुवानी ट्याक्टरहरुका चालक सहचालकहरु तथा मजदुरहरुको ठुलो भिँड हुने बस्ने खाने आउने जानेका कारण पनि संक्रमण फैलिएको वडाको ठहर छ । तत्काल ढुंगा उत्खनन रोक लाउनु पर्ने पनि अध्यक्ष राईले बताउनुभयो । एन्टिजेन किट मार्फत कोरोना परिक्षण भएको हो । परिक्षणमा एक शिक्षक, उनको परिवार र टोल विकास संस्थाका अध्यक्ष समेतमा संक्रमण देखिएकोले संक्रमणको अवस्था उच्च हुने वडाको आकलन छ । यो स्थितिलाई गम्भिरताका साथ लिदै वडाले समधानका निम्ति सम्बन्धित निकायहरु सँग समन्वय गर्दै बिषेश पहल थालेको जनाएको छ । योसंगै त्रियुगामा संक्रमितको संख्या १ सय ९५ पुगेको छ । दोस्रो संख्यामा रहेको बेलकामा ६ जना थपिएसंगै ६२ पुगेको छ । चौदण्डीगढी नगरपालिकामा ११ जना थपिएसंगै संक्रमित ४४ पुगेको छ । ४ जना थपिएसंगै रौतामाई गाउँपालिकामा १४ पुगेको छ । ७ थपिएसंगै लिम्चुङबुङ गाउँपालिकामा संक्रमितको संख्या ८ पुगेको छ भने १ जना थपिएसंगै उदयपुरगढी गाउँपालिकामा संक्रमित ७ पुगेको छ । कटारी नगरपालिकामा संक्रमित ३५ छ । ताप्ली गाउँपालिकामा संक्रमित सुन्य अवस्था छ । हालसम्म मृत्यु हुने ७ जना मध्ये ४ जना त्रियुगा नगरपालिकाका हुन् भने चौदण्डीगढी नगरपालिकाका २ र कटारी नगरपालिकाका १ जना हुन् ।

३.

उदयपुरमा कोरोना संक्रमण तिब्र बढ्दै गएपछि निशेधाज्ञ थपिएको छ । भरै राती १२ बजेदेखि लागु हुने गरी ७ दिनका लागि निशेधाज्ञ जारी भएको हो । गत २४ गते जारी भएको निशेधाज्ञ आज सकिए लगत्तै अर्को ७ दिनका लागि जारी भएको हो । जिल्लाभर लागु हुनेगरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६,३ र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निशेधाज्ञ जारी भएको हो । निषेधित कार्यहरु प्रशासनले प्रष्ट रुपमा सार्वजनिक गर्दै कडाइ गर्ने जनाएको छ । सार्बजनिक आवागमन, भेला, जमघट, सभा, समारोह निषेध छ । खेलकुद, नाचगान, मेला, जात्रा, भोजभतेर, हाटबजार बन्द गरिएको छ । मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा भेला हुन रोक छ । सामुहिकरुपमा आश्रय लिइ बस्न र भेला हुन पनि निषेध छ । जुलुस, प्रदर्शन, तालिम, गोष्टी बन्द छ । यसका साथै रंगशाला, कवर्डहल, खेलकुद स्थान, मनोरन्जन स्थान, जिमहल, स्विमिङपुल, पार्टी प्यालेस, सैलुन, ब्युटिपार्लरहरु बन्द गरिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र पनि बन्द गरिएको छ । त्यसैगरी, सार्जजनिक तथा निजी सवारी सन्चालनमा पनि कडाइ गरिएको छ । खाद्यबस्तु, पेट्रोलियम पदार्थ, पानी तथा अत्यावश्यक सामग्री बोकेको ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढिमा २ जना बोकेको एम्बुलेन्स, स्वास्थ्यकमीृ तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला प्रवेशमा रोक लगाइएको छ । भिडभाड हुने गरी ब्यापार, ब्यवसाय, निर्माण कार्य गर्न र श्रमिकहरुको ओसार तथा प्रयोग गर्न पाइनेछैन । अत्यावश्यक काम भने स्वास्थ्य मापदण्ड पालना गर्न सकिने केही कुराहरु पनि प्रष्ट पारिएको छ । विवाह तथा ब्रतबन्धको हकमा बढिमा १५ जना मात्र जम्मा हुन पाउने । त्यो पनि प्रशासनको अनुमति लिइ, स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर मात्र । विवाहका लागि जिल्ला बाहिर जान परेमा बढिमा ७ जना मात्र जान पाउने छ । अत्यावश्यक कामले बाहिर निस्कनुपर्दा अनिबार्य मास्क लाउने, सेनिटाइजर प्रयोग गर्ने, कम्तिमा २ मिटर भौतिक दुरी राख्ने भनिएको छ । जिल्ला भित्रका सरकारी, निजी तथा गैर सरकारी क्षेत्रले आप्mनो निकायबाट प्रदान गरिने अतिआवश्यक सेवा हाललाई स्वास्थ्य मापदण्ड अपनाई न्यूनतम जनशत्तिबाट प्रवाह गर्न निर्देश गरिउको छ ।

४.

विश्व महामारीको रुपमा फैलिएको नयाँ प्रकारको कोरोनाले उदयपुरको सबै क्षेत्रका मानिसलाई संक्रमित पारेको छ । सर्बसाधारण नागरिकदेखि स्वास्थयकर्मी, राष्टसेवक कर्मचारी, शिक्षक, ब्यवसायी, संचारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रमा संक्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ । उदयपुरमा कोरोना समुदायस्तरमा नै तिब्र फैलिएकाले सबै क्षेत्रलाई छोएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनुभयो । समुदायस्तरमै फैलिएकाले कोरोना संकट जिल्लामा देखिएको छ । यसबेला सबै नागरिकले सचेत र सतर्क भई आप्mनो ठाउँबाट नियन्त्रणमा भूमिका खेल्नुपर्ने हुन्छ । प्रशासनले सबै नागरिकलाई यसप्रति अनुरोध गर्दै लापरवाही नगर्न र घरमा बस्न आव्हान गरेको छ । निशेधाज्ञको पूर्ण पालना गर्दै कोरोना विरुद्ध लड्न आव्हान गरेको छ ।

५.

देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । ८ हजार ५ सय २० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय ३ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको हो । आज ६ हजार १ सय ३५ जना निको थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड १९ लाख ६ सय २२ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ६० हजार ६ सय ५१ छ भने निको हुनेको संख्या १३ करोड ९७ लाख ४२ हजार १ सय ६ रहेको छ ।

  • पहाडी क्षेत्रकाे समुदायभित्र फैलिएकाे संक्रमणबारे वडाध्यक्ष मानबहादुर राइसंग विशेष संवाद | कृपया, हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहाेला ।