
पूर्णपुष्टि, चैन १९ ।
आजसम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हिजोसम्मको कोरोना भाइरसका कारण मर्नेको संख्या ४२ हजार १ सय ७ पुगेको हो । हिजो मंगलबार एकैदिनमा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको हो ।
एक लाखभन्दा बढी मानिस संक्रमि रहेको इटलीमा एकैदिनमा ८ सय ३७ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म त्यहाँ १२ हजार ४ सय २८ जनाको ज्यान गइसकेको छ । स्पेनमा कारोना संक्रमणका कारण आठ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय संक्रमण निकै बढिरहेको अमेरिकामा हिजो ७ सय १९ जनाको ज्यान गयो । यो संगै अमेरिकामा मृत्यु हुनेको जम्मा संख्या ३ हजार ८ सय ६० जना पुगेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा भने हिजो थप ३ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
यता, चाइनातर्फको भने एक हिसावले सुखद खबर छ । कोरोना भाइरस सुरु भएको चाइनामा संक्रमण शून्यमा झरेको बताइएको छ । हिजो चीनमा कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान नगएको सञ्चार माध्यमहरुले जनाएको छ ।
५ जनामा संक्रमण देखा परेको नेपालमा १ जनाको उपचारपछि निको भइसकेको छ भने बाँकीको उपचार जारी छ । उपचारमा रहेकाहरुको अवस्था सामान्य रहको जनाइएको छ ।
