
उदयपुर, असोज ६ ।
उदयपुर हिमाली यातायात केन्द्रका कार्यवाहक अध्यक्ष परमेश्वर घिमिरेले उदयपुरको सदरमुकाम गाईघाटबाट सञ्चालन हुने सबै किसिमका सवारी साधनहरु सञ्चालनमा आएको जानकारी दिदै यात्रुहरुले ढुक्कले यात्रा गर्ने वातावरण रहेको बताउनु भएको छ । 
पूर्णपुष्टि मिडियासंग संवाद गर्दै अध्यक्ष घिमिरेले कोरोनाप्रति उच्च सतर्कता अपनाउदै सरकारले तोकेको सबै मापदण्ड अपनाएर मात्र सार्बजनिक यातायात सञ्चालन गरिएकोले ढुक्कले यात्रा गर्ने वातावरण रहेको बताउनुभयो । गाईघाटबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका, ग्रामिण भेग, पहाडी भेग, पूर्वी सहरहरु र राजधानी काठमाडौं लगायत सञ्चालन हुने सबै सावारी सञ्चालनमा रहेको उहाँले बताउनुभयो । 
अहिलेसम्मको कोरोनाको अवस्थालाई हेर्दा उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सञ्चालन गर्न सकिने देखिएको उहाँले बताउनुभयो । अव कोरोना विरुद्ध लड्दै व्यवसाय अगाडी बढाउनु पर्ने अवस्था आएको बताउनुभयो ।
उहाँका अनुसार गाडीको सिट क्षमताको आधा मात्र यात्रु चढाइने, अनिवार्यरुपमा सवारीका कर्मचारीहरुले मास्क, सेनिटाइजर प्रयोग गर्ने र यात्रुलाई पनि अनिवार्य गराउने, गाडी चढ्न अघि सुरुमै भाडा मिलाइने, गाडी रोकेर चढ्ने र झर्ने ठाउँ निश्चित तोकिने जस्ता सुरक्षा मापदण्ड पूर्ण पालना गरी यातायात सञ्चालन हुनेछन् । सुरुवा गाडी पुरै सेनिटाइज गर्ने र यात्रा सकिएपछि पनि फेरी सेनिटाइज गर्ने गरिन्छ । लामो दुरीको हकमा भाडाका लागि विद्युतीय कारोवार सञ्चालन गरिनेछ ।
गत चैत ११ मा लकडाउन सुरु भएदेखि नै यातायात क्षेत्र ठप्प छ । उदयपुरको यातायात पनि त्यसै बेलादेखि बन्द रहेकोमा प्रदेश सरकारले असोज ५ देखि खोलेसंगै सञ्चालनमा आएको हो । छ महिनासम्मको बन्दले यातायात क्षेत्र प्रभावित बन्न पुग्यो । सवारी नचल्दा खिला लाग्ने, इन्जिन विग्रनेदेखि टायर खिइनेसम्मको घाटा सवारी धनिले ब्यहोर्नु परेको थियो । सवारी मजदुरहरुलाई रोजिरोटीको समस्या परेको थियो ।
सवारीमा पचासप्रतिशतसम्म भाडा बढाउन सक्ने सरकारले भनेको छ । सवारीको क्षमता भन्दा आधामात्र बोक्नु पर्दा नाफाको खासै आशा नरहे पनि सेवाका लागि समेत सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
सवारी चलेसंगै सबैभन्दा बढि फाइदा सर्बसाधारणलाई हुने अध्यक्ष घिमिरेको भनाई छ । हिजोको दिनमा पैसा हुनेले गाडी रिजर्भ गरेर चढेका थिए । साविक भाडा भन्दा दशौं गुना बढिसम्म तिरेर हिडेका थिए । अव भने बढिमा डेडा बढी भाडा तिरेर नै सर्बसाधारण आप्mनो गन्तब्यमा हिड्न पाउने भएका छन् । यात्रुलाई दोब्बरसम्म भाडा नपर्ने उहाँले बताउनुभयो ।

यातायात व्यवसायीहरुको आफ्नै पिडा रहेकाले सो अनुरुपको सहयोग पुर्याउन सरकारसंग माग गरिएको पनि उहाँले बताउनुभयो । अहिलेको यातायात खुल्ला अवस्था यातायात ब्यवसायीको मागसंगै सरकारले पनि खोल्न आवश्यकता देखेर नै खुलाएको उहाँले बताउनुभयो ।
भोलीका दिनमा यातायात सेवा सञ्चालनले कोरोना बढेको भन्ने अपजस नआउने गरी काम अगाडी बढाइने उहाँले बताउनुभयो । भोली कोरोना बढेमा यो अपजस आउनसक्ने भन्दै उहाँले यातायात नचल्दा पनि बढेको देखिएको र अव यातायात चल्दा विशेष सतर्कता अपनाइने बताउनुभयो । अहिले बैंक, होटल पसल, आदिमा भिडभाड देखिने गरेको तर सवारी साधनमा त्यो किसिमको भिडभाड हुन नदिइ सतर्कताका साथ यात्रुलाई दुरीमा हिडाउने र राख्ने काम हुने बताउनुभयो । यदि सवारीमा यातायात ब्यवसायी, कर्मचारीको तर्फबाट मापदण्ड पालना नभएको खण्डमा प्रशासनको कारवाहीको भागिदार बन्नुपर्ने, त्यसका लागि आफुहरु कडाइका साथ लाग्ने पनि बताउनुभयो ।
कोरोनाप्रतिको सतर्कता यातायात ब्यवसायी, कर्मचारी, मजदुरको मात्र नभई यात्रु स्वयम्को पनि भएकोले सबैले सर्तकता भईदिन र मापदण्ड अपनाइदिन उहाँको आग्रह छ ।

