
पूर्णपुष्टि, असोज ६ ।
देशकै ठूलो सरकारी स्वमित्वको उद्योग, उदयपुर सिमेन्ट उद्योग जलजलेमा छ दिनदेखि निरन्तर मजदुर आन्दोलन चलिरहेको छ । लकडाउनको बेला उद्योगबाट निकालिएका करारका ज्यालादारी मजदुरहरुको आन्दोलन पुनः नियुक्तीको माग गर्दै चलिरहेको हो ।
उनीहरुले जलजलेस्थित उद्योगको मुख्य गेटमा धर्ना दिदै आएका छन् । गएको चैत ११ गते लकडाउन सुरु भएसंगै करारका एकसय तीन जना मजदुरहरु कामबाट निकालिएका थिए । पुनः नियुक्तीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुर सन्तोष खड्काको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति नै गठन गरेर आन्दोलन अगाडी बढाएका छन् । गत असोज २ गतेदेखि धर्ना कार्यक्रमका साथ आन्दोलनमा उत्रिएका उनीहरुले दैनिकरुपले धर्नाको समय बढाउदै गएका छन् । २ गते विहान १०ः ०० देखि ११ ः ०० बजेसम्म एकघण्टा धर्ना बसेका उनीहरु हरेकदिन आधाघण्टा थप्दै आएका छन् । आज दिउसो २ ः ०० बजेसम्म धर्ना कार्यक्रम रहेको छ ।
उनीहरुले असोज ८ गतेसम्मका लागि निरन्तर धर्ना कार्यक्रम घोषणा गरेका छन् । त्यसबेलासम्म उद्योगले मजदुरको माग सम्बोधन नगरे थप आन्दोलन गर्ने बताएका छन् । उद्योगलाई ज्ञापन पत्र, निवेदन पत्र दिएपनि हालसम्म उद्योगको तर्फबाट कुनै पनि संबोधन हुने काम नभएको मजदुरहरुले बताएका छन् । मजदुरहरुले हिजो जिल्ला प्रशासनमा समेत ज्ञापन पत्र बुझाएका थिए ।
आगामी ८ गतेसम्ममा पनि संवोधन नभए मुख्य गेटमा तालाबन्दीदेखि थप कडा आन्दोलन र संघर्ष गरिने संयोजक खड्काले बताउनुभयो । यसरी निकालिएका अधिकांश मजदुरहरु उद्योगको प्रदुर्षण प्रभावित क्षेत्रका रहेकाले उद्योगले उनीहरुलाई पुनः नियुक्ती दिएर काममा लगाउनु पर्ने स्थानीय मुकेश राईले बताउनुभयो । उहाँले लकडाउनले मजदुर र उनीहरुको परिवारको हातमुख जोड्न समस्या परेपछि उद्योगको सरणमा परेका मजदुरहरुलाई निर्वादरुपमा नियुक्ती गर्न उद्योग प्रशासनसंग आग्रह गर्नुभयो ।
उद्योगका महाप्रवन्धक नवलकिशोर साहले हाल उद्योग बन्द अवस्थामा रहेको र लकडाउनले ठूलो आर्थिक क्षती ब्यहोर्नु परेकाले मजदुरहरुलाई हाल नियुक्ती गर्ने अवस्था नरहेको बताउनुभयो । उद्योग दयनीय अवस्थामा रहेको बेला कर्मचारी पाल्न पनि धौधौ परिरहेको उहाँले बताउनुभयो । हाल उद्योगले ३ सय ५० जना कर्मचारी पाल्नुपरेको जनाइएको छ । भोलीको दिनमा उद्योग सञ्चालनमा आएपछि मात्र मजदुरको आवश्यकता पर्ने र उद्योगले पनि मजदुरलाई पारिश्रमिक दिनसक्ने भएकाले अहिले भने उनीहरुको माग सम्बोधन गर्न नसकिएको साहले बताउनुभयो ।


