
पूर्णपुष्टि (उदयपुर), पुस १३ ।
उच्च अदालत विराटनगरले त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटसंग सम्बन्धीत मुद्दामा कार्यवाहक अध्यक्ष रमेश रसाईलीको पक्षमा फैसला दिएको छ । रसाईली संघको विधान अनुसार कार्यवाहक अध्यक्ष भएको र त्यसलाई प्रशासन कार्यालयले नै स्विकार गरिसकेको प्रमाणको आधारमा संघको विधान बमोजिम काम कारवाही अगाडी बढाउन मिल्नेगरी छिनोफानो दिएको हो ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय उदयपुरले संघको बैंक खाता रोक्का गर्नुका साथै संस्था खारेजसम्म हुनसक्ने भन्दै सुचना जारी गरेको थियो । उच्च अदालतका न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायण सिंह राईको संयुक्त इजालसले रिट मुद्दाको सुनुवाई पछि फैसला गर्दै प्रशासनलाई बैंक खाता नरोक्न र सुचना कार्यन्वयन नगर्न आदेश भएको छ ।
संघको विधान बमोजिम कार्यवाहक अध्यक्षको नेतृत्वमा चल्दै गरेको संघलाई निस्कृय पार्नेगरी प्रशासनले कदम चालेपछि सोको विरुद्धमा संघको तर्फबाट रसाईली नेतृत्वको बहुमत पदाधिकारी पक्षले उच्च अदालतमा रिट हालेको थियो । सो रिटको सुनुवाईपछि आज फैसला भएको हो ।
संघको एक पक्षले रसाईलीलाई कार्यवाहक अध्यक्ष नै स्विकार नगर्ने गरी विभिन्न गतिविधि गर्ने, सधारण सदस्य समेतबाट कारवाहीमा परेका निवर्तमान अध्यक्ष गजेन्द्र भगतलाई अध्यक्षको हैसियतमा नाम राखेर पत्रपत्रिकामा भ्रमपूर्ण सुचना जारी गर्ने काम भइरहेको थियो । उच्च अदालतले संघको विधान बमोजिम कार्यवाहक अध्यक्ष बनेका रसाईली नेतृत्वले गरेको संघको काम तथा साधारण सभाको तयारी सहि प्रमाणीत गरिदिएको छ । यो फैसला पछि कार्यवाहक अध्यक्ष रसाईलीलाई संघको काम कारवाही अगाडी बढाउन र साधारण सभा गर्ने बाटो खुल्ला भएको छ ।
चुडामणी कार्कीको मुद्दा नै खारेज
यसैबीच जिल्ला प्रशासन कार्यालय उदयपुरसमेतलाई विपक्ष बनाई उच्च अदालतमा मुद्दा दिएका निवर्तमान महासचिव चुडामणी कार्कीको मुद्दा खारेज भएको छ ।
आफुहरुको हक हनन् भएको भन्दै दिएको निवेदनमा कुन हक हनन् भयो भन्ने नै नदेखिएको र त्रियुगा उद्योग वाणिज्य संघ संस्था ऐन २०३४ बमोजिम स्थापित संस्था, आप्mनै विधान बमोजिम चलेको पाइएपछि कार्कीको मुद्दा खारेज भएको हो ।
यी दुबै मुद्दाको फैसला न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायण सिंह राईको संयुक्त इजालसबाट भएको हो । कार्यवाहक अध्यक्ष रसाईलीले संघको सर्बोत्तम हितमा रहेर सबै ब्यापारी, ब्यवसायीको हक, अधिकार स्थापित हुनेगरी साधारण सभा तथा सबैको सम्मानजनक सहभागिता हुने गरी काम गर्ने बताए ।


