
पूर्णपुष्टि, साउन १ ।
कृषि विकास बैंक शाखा कार्यालय गाईघाटका प्रवन्धक कृष्णकुमार कटुवालले एक युवा उद्यमीलाई धम्क्याउदै दुब्र्यवहार गर्नुका साथै मानसिक तनाव दिने गरेका छन् ।
दुरदर्शी रौतारानी आधुनिक खरायो फर्मका सञ्चालक हेमन्त भण्डारीलाई प्रवन्धक कटुवालले यस्तो ब्यवहार गरेका हुन् । घटनाको भत्सर्ना गर्दै घरेलु तथा साना उद्योग महासंघ उदयपुर, त्रियुगा नगर संघले विज्ञप्तीसमेत जारी गरेको छ । भण्डारी संघको त्रियुगा नगर कोषाध्यक्षसमेत हुन् । उनले त्रिनपा १० रातमाटेमा खरायाे फार्म ३ वर्षदेखि सन्चालन गरिरहेका छन् ।

प्रवन्धक कटुवालले मादकपदार्थ र लागुऔषध खाइस भन्दै अपशब्द प्रयोग गरी मानसिक तनाव दिएको पिडित युवाले बताएका छन् । फोनबाट बारम्बार तनाव दिने गरेको प्रवन्धक कटुवालले घरमै गएर समेत मानसिक तनाव दिएको बताएका छन् ।
युवा भण्डारीले दुईवर्षअघि सो बैंकबाट प्रक्रियागतढंगले सहुलियत कर्जा ७ लाख रुपैया लिएका थिए । समय–समयमा किस्ता रकम तिर्दै आएका थिए । कोरोना महामारीकाबीच ब्यवसाय ठप्प हुँदा राज्यले नै उद्यमीहरुलाई केही छुटसमेत दिएको अवस्थामा ब्याज असुलको निहुमा तनाव दिने गरेको हो ।
संघको त्रियुगा नगर अध्यक्ष रुद्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रवन्धक कटुवालको यो शैलीलाई गलत भनिएको छ साथै उनलाई कारवाहीको माग गरिएको छ ।
उद्यमी भण्डारी एक मेहेनती र इमान्दार युवा हुन् । विदेशबाट फर्केर आफ्नै ठाउँमा केही गर्न उनले पृथकढंगले खरायो फर्म सञ्चालन गरिरहेका छन् । उनी खरायाे फर्मसंगै समाज सेवामा पनि छन् ।
शाखा प्रवन्धक कटुवालले ताकेता गर्न घरसम्म गएको तर अपशब्द र दुब्र्यवहार भने नगरेको बताउनुभयो । पटक पटक फोन गर्दा नउठाए पछि घरमै गएको उहाँको भनाई छ ।
“आजसम्म आफुले छोरोलाई नबोलेको गाली शब्द उनीहरुले बोलेर लागी गर्यो ।” पिडित युवाका बुवा योगेन्द्र भण्डारीले भन्नुभयो “पैसा रक्सी खाइस, ड्रग्स खाइस, के को खरायो पाल्छस भन्दै गाली गरे ।” सरकारी कर्मचारीको हाकिमबाट भएको यस्तो दुब्र्यवहारले मन दुखेको उहाँले बताउनुभयो । अन्य उद्यमीहरुलाई पनि यस किसिमको दुब्र्यवहार गर्ने गरेको गुनासो बढेको छ ।
संघका जिल्ला अध्यक्ष मधुकर थापाले हाल काेराेना महामारीमा उद्ममीहरूलाइ विशेष छुट र सहुलियतकाे माग गरिएकाे बताउनुभयाे । सरकारले पनि याे अवस्थामा ताकेता गर्न नपाउने भनि गरेकाे निर्देशनकाे समेत अवज्ञा गर्दै धम्क्याउने काम भएकाे उहाँले बताउनुभयाे ।
