
पूर्णपुष्टि, असोज ६ । जनविद्रोहका क्रममा भदौ २४ गते सिंहदरबारभित्रको शिक्षा मन्त्रालयको भवनमा आगजनी भएपछि उक्त कार्यालय प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेको छ ।
भवन क्षतिग्रस्त भएका कारण शिक्षा मन्त्रालयले लैनचौरमा रहेको केशरमहलमा अस्थायी कार्यालय स्थापना गरेर सेवा दिन थालेको छ । मन्त्रालयका कर्मचारीहरूले पनि नयाँ ठाउँमा काम सुरु गरेका छन् । आजै उक्त अस्थायी कार्यालयमा नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । वैज्ञानिक तथा आविष्कारक पुनलाई शिक्षा क्षेत्रको नेतृत्व गर्न सिफारिस गरिएको हो ।
आन्दोलनकारीहरूले मन्त्रालयको मुख्य भवनमा लगाएको आगोका कारण धेरै महत्वपूर्ण कागजात र फर्निचरहरू नष्ट भएका छन् । भवन मर्मतसम्भार नहुँदासम्म केशरमहलबाटै सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त घटनाले शिक्षा क्षेत्रको सेवा प्रवाहमा केही बाधा आए पनि वैकल्पिक व्यवस्था मिलाएर नियमित काम जारी राखिएको छ ।
