
पूर्णपुष्टि, मंसिर ३
नेपालमा कोरोनाको औषधी आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् ।
अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ ।
खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो ।
विभिन्न अध्ययनअनुसार ‘सार्स कोभ(२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ । अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ । भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उहाँको भनाइ छ । तर, कोभिड(१९ विरुद्ध निर्माणाधीन खोपहरूलाई भाइरसअनुसार म्युटेट नहुने खालको बनाइएको भनिएको छ ।
त्यसकारण खोप प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । तर अहिलेसम्म प्रयोगमा नआएकाले यकिनका साथ भन्न सकिने अवस्था भने नभएको डाक्टर राजभण्डारीले बताउनुभयो । अमेरिकालगायत देशमा कोरोना भाइरस सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको छ ।
जाडो मौसममा कोराना सङ्क्रमण अझ बढ्न सक्ने विज्ञले बताउँदै आएका छन् । अहिले अमेरिकालगायतका देशमा प्रभावकारी देखिएको खोप नेपालमा जनवरी वा फेब्रअरीसम्म आइपुगे पनि महामारी नियन्त्रणमा प्रभावकारी हुने देखिन्छ । तर १,२ महिनामै खोप आउने सम्भावना नै नभएको डाक्टर भण्डारी बताउनुहुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन र रुसमा बनिरहेका खोपलाई नेपालमा परीक्षणका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । विभिन्न देशका धेरै कम्पनीले खोप निर्माण ९० प्रतिशत सफल भएको दाबी गरेकाले नेपालमा पनि यसले आशा भने जगाएको छ ।
अमेरिकी औषधि निर्माण कम्पनी फाइजर र जर्मन साझेदार कम्पनी बायोएन टेकले कोरोनाविरुद्ध निर्माणाधीन खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको छ ।

