Tuesday, June 2News That Matters

कोरोनाबाट बिराटनगर र धरानमा ३ जनाको मृत्यु

पूर्णपुष्टि, कात्तिक २

कोरोना संक्रमणबाट बिराटनगर र धरानमा थप तीन जनाको मृत्यु भएको छ ।
बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक/एक जनाको मृत्यु भएको हो ।
शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा गत असोज २५ गते भर्ना गरिएको अस्पतालले जनाएको छ ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आइतबार बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

उनलाई गत असोज २६ गते कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।